काठमाडौं : माघ १३, भारतले दादागिरी देखाउँदै कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा नेपाली भूमि साहारा मरुभूमि झै उजाड र सुख्खा बनेको छ । भारतीय दादागिरीका कारण नेपाली किसानहरु मर्कामा परेका छन् । कोशी व्यारेज कन्ट्रोल कक्षले भारतीय पक्षको निर्देशन अनुसार निर्णय गर्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग पुर्याउने उद्देश्यले कोशी व्यारेजबाट निर्माण गरिएको दुई वटा नहरमध्ये पश्चिमी नहरबाट नेपालमा धान र गहुँको सिजनमा सिँचाइ गरिन्छ ।
तर, भारतले आफ्नो भूमितर्फ बग्ने पूर्वी नहरमा मात्रै पानी छाड्दा कोशी पश्चिमी नहरमा पानी छाडेको छैन । वर्षे भेलमा भारततिरको नहर बन्द गरेर नेपालतर्फको नहरमात्रै खोल्ने भारतले हिउँदयाममा भने ठीक उल्टो काम गरेको छ । व्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौं किसानले हजारौं बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् । यो नहरसँग जोडिएका १२ वटा छोटी नहरहरु पनि छन् । छोटी नहर मार्फत् केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् । पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन । यो नहर झण्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ ।
अन्य वर्षहरुमा पुसको दोस्रो साता नै नहरमा पानी छाडिन्थ्यो । यस पटक माघको दोस्रो साता बित्न लाग्दा पनि पानी छाडिएको छैन । नहरमा पानी नछाड्दा झण्डै २५ हजार बिघा जग्गामा लगाइएको गहुँबालीलाई सिँचाइ गर्न समस्या भएको छ । यो नहरको पानीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर, राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ गर्दै आएका छन् ।