Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमै नष्ट गर्न थालियो गोलभेंडा

spot_img
spot_img

काठमाडौं : चितवनका किसानले उत्पादन गरेको गोलभेंडा चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमा नै नष्ट हुन थालेको छ । किसानले लाखौँ खर्च गरेर उत्पादन गरेको गोलभेंडा सस्तोमा समेत बेच्न नसकेपछि बारीमा नै नष्ट गर्न थालेका हुन् । भरतपुर महानगरपालिका– २५ अमृतनगरका अनुप सुवेदीले बिक्री गर्न ठिक्क पारेको करिब दुई सय क्रेट गोलभेंडा वैैशाख पहिलो साता नष्ट गरे । व्यापारीले आफूसँग प्रशस्त गोलभेंडा भएको भनेपछि उनको उत्पादन बिक्री भएन । उनले भने, ‘बिक्री हुन्छ कि भनेर स्टोर गरेरै घरमा राखेको पनि हो । तर, गर्मीका कारण गोलभेंडा कुहिँदै जादा नष्ट गर्न बाध्य भएँ ।’

सुवेदीले गत पुसमा भाडाको ६ बिघा जमिनमा गोलभेंडा लगाएका थिए । फागुन अन्तिम हप्तादेखि गोलभेंडा उत्पादन हुन थाले पनि उनले एक लाखको गोलभेंडा पनि बिक्री गर्न पाएका छैनन् । सोही ठाउँका लेखनाथ भुसालले पनि गोलभेंडा बिक्री नभएपछि घरपालुवा जनावारलाई दिएका छन् । केही मलखातमा फालेर नष्ट गरेका छन् । उनले सोमबार बिक्रीका लागि राखिएको १० क्रेट गोलभेंडा बिक्री नभएर कुहिएपछि मलखातमा फालेर नष्ट गरेको बताए । उनले खेती गर्दै आएको ६ बिघामध्ये दुई बिघामा गोलभेंडा लगाएका थिए । त्यसमध्ये एक बिघा जमिनको गोलभेंडाले बजार पाए पनि बाँकी एक बिघाबाट लगानीसमेत उठाउन सकेनन् ।

भुसालका अनुसार नयाँ प्रविधि प्रयोग गरेर एक बिघामा गोलभेंडा लगाउँदा करिब पाँच लाखभन्दा बढी लगानी हुन्छ । पुरानै भयो भने साढे तीन लाखसम्म खर्च लाग्ने उनी बताउँछन् । बजार राम्रो भए किसानले एक बिघाबाट तीन लाखसम्म नाफा लिन सक्ने उनी बताउँछन् । तर, अहिले भारतीय गोलभेंडासँगै नेपालमा नै उत्पादन बढ्दा आफ्नो गोलभेंडा बिक्री नभएको बताए । भुसालकै नेतृत्वमा यस वडामा १८ वटा ब्लक बनाएर आधुनिक सामूहिक खेतीमार्फत युवाहरूले व्यावसायिक खेती गर्दै आएका छन् । यस ब्लकको ४० बिघामा यसपटक गोलभेंडा खेती भएको थियो ।

कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नहुँदा गत वर्ष सामूहिक खेतीमा आबद्ध युवाले डेढ करोड क्षति व्यहोरेका थिए । उनीहरूले सो समयमा आश्रमहरूमा समेत निःशुल्क तरकारी वितरण गरे । लकडाउनमा करोडौँ क्षति व्यहोरेका उनीहरूको समस्या अहिले पनि जस्ताको तस्तै छ । टिप्ने खेतला खोजेर बाँड्दा थप खर्च हुने देखेर टिप्नै छाडेको उनी बताउँछन् । पुनः लकडाउनको हल्लाले गोलभेंडा खेतीबाट घाटा खाएका किसान केही समय जमिन खाली राख्ने सोचमा रहेकोसमेत बताउँछन् । तर, जिल्लाका सरकारी कार्यालयहरूले किसानको पीरमर्का बुझ्ने र राहतका लागि केही काम नगरेको उनीहरूको गुनासो छ । एक केजी गोलभेंडा उत्पादन गर्द १५ देखि २० रुपैयाँ खर्च हुन्छ । किसानले बिक्री नभएर फाल्नुपर्ने अवस्था भए पनि बजारमा प्रतिकेजी २० देखि ३५ रुपैयाँसम्ममा उपभोत्ताले खरिद गर्छन् ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?