Friday, September 20, 2024

ट्रेन्डिङ :

प्रधानाध्यापक लोकराज भट्ट– जसले आईसीयू र अक्सिजन नपाउँदा प्राण त्यागे

महेन्द्रनगर- कञ्चनपुरको महाकालीपारिको नगरपालिका दोधरा चाँदनी । सोही नगरपालिका–७, बाबाथानस्थित लक्ष्मी माविका प्रध्यानाध्यापक लोकराज भट्टलाई वैशाख १५ गते सामान्य रुघाखोकी लाग्यो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्‍याइयो । अस्पतालमा उनको पीसीआर परीक्षण भयो । १७ गते दिउँसो ३ बजे उनमा कोरोना पोजिटिभ देखियो । कोरोना देखिएपछि महाकाली अस्पतालमै उपचार सुरु गरियो ।

स्वास्थ्य गम्भीर बन्दै गएपछि आईसीयू बेडको आवश्यकता पर्‍यो । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी भन्छन्, “हामीसँग भएका ६ वटै आईसीयू बेडमा कोरोनाकै बिरामी थिए । कैलालीमा पनि सबै आईसीयू प्याक भएको जानकारी पाइयो । हामीसँग विकल्प थिएन, त्यसपछि हामीले डडेलधुरा लैजान सुझाव दियौँ ।”

आफन्तले लोकराजलाई क्षेत्रीय अस्पताल डडेलधुरा लैजाने निर्णय गरे । डडेलधुरामा आईसीयू बेड खाली थियो । उनलाई लैजान एम्बुलेन्स खोज्न थालियो । शुक्रबार बिहानदेखि दिउँसोसम्म एम्बुलेन्स भेटिएन । भेटिएका कसैले जान मानेनन् । निकै ढिला एक एम्बुलेन्स डडेलधुरा जान तयार भयो । तर, एम्बुलेन्समा अक्सिजन थिएन । “अक्सिजन नभएको एम्बुलेन्समै उहाँलाई डडेल्धुरा अस्पतालमा लगिँम्दै थियो, बाटोमै उहाँले प्राण त्याग्नुभएछ,” महाकाली अस्पतालका अध्यक्ष जोशीले भने ।

एम्बुलेन्समा अक्सिजन र कञ्चनपुर वा कैलालीमा आईसीयू बेड समयमै पाएको भए उनलाई बचाउन सकिने अस्पतालकै अधिकारीहरु बताउँछन् । कञ्चनपुरबाट डडेलधुरा पुग्न एम्बुलेन्समै पाँच घण्टा बढी समय लाग्छ । वैशाख १५ गतेसम्म प्रधानाध्यापक भट्ट सहकर्मी शिक्षकसँग टीपीडी तालिममा सहभागी भएका थिए ।

महाकाली अस्पतालसँग दुईवटा मात्रै एम्बुलेन्स रहेको अध्यक्ष जोशी बताउँछन् । दुवै एम्बुलेन्स शव र संक्रमित बोक्न प्रयोग गरिएका छन् । महाकाली अस्पतालमा समेत अक्सिजनको अभाव भएको छ । संक्रमित र मृतकको संख्या दैनिक बढ्दो छ ।

अध्यक्ष जोशीका अनुसार अस्पतालकै २६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कञ्चनपुरकै संक्रमणका कारण एकजना शिक्षिकाको समेत ज्यान गएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?