काठमाडौं । गठबन्धन सरकार बनाउन तीन दिनको म्याद दिएर राष्ट्रपतिले आह्वान गरेलगत्तै जनता समाजवादी पार्टीमा भाँडभैलो सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आह्वान गरेका थिए । उपेन्द्र यादवको व्यक्तिगत निर्णय रहेको र त्यो पार्टीको निष्कर्ष हुन नसक्ने भन्दै महन्थ ठाकुरले राष्ट्रपतिलाई अर्को पत्र पठाएका छन् ।
इमेलमार्फत पठाइएको पत्रमा ‘उपेन्द्र यादवको हस्ताक्षर व्यक्तिगत हो, पार्टीको आधिकारिक पहिलो अध्यक्ष म हुँ । पार्टीले कुनै पनि सरकार सहभागी हुने निर्णय लिएको छैन । त्यसकारण जसपा गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी हुँदैन भन्ने व्यहोरा रहेको’ एक नेताले जानकारी दिए । ठाकुरले राति नै विज्ञप्ति जारी गरेर जसपा नयाँ सरकार गठनको प्रक्रियामा सामेल नहुने र ओली नेतृत्वको सरकारले नै मधेस आन्दोलनका थाती रहेका माग सम्बोधन गरेको बताएका थिए ।