तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको छ।
गृहमन्त्रालयका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। यसअघि रुकुम पूर्वमा निषेधाज्ञा गरिएको थिएन। रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो।
वैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भएको थियो।संक्रमितको संख्या ठुला शहरमा ५ सय अन्य स्थानमा २ सय भएको ठाउँमा स्थानीय प्रशासन कार्यालयले निषेधाज्ञा गर्न पाउने अधिकार छ। निषेधाज्ञा गरिएको जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकाभित्र देशभर थपिने संक्रमितमध्ये ३० प्रतिशत भन्दा बढी छन्।
अहिले निषेधाज्ञा भएकामध्ये पाँच जिल्लामा आंशिक भने बाँकी जिल्लाहरुमा पूर्णरुपमा निषेधाज्ञा रहेको छ। काभ्रे, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङमा भने केही स्थानमा मात्र निषेधाज्ञा गरिएको छ। ४० भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञाको समय थप गरिएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि सर्ने दर घटाउन भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा गरेका हुन्। त्यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाई उडानसमेत बन्द गरेको छ।