काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको छ । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
यतिमात्रै होइन मौदि्रक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको पनि एक महिनासम्म ऋणीको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना ननिकाल्न भनेको छ । तर, राष्ट्र बैंकले यस्तो नीति लिएको २४ घण्टा पनि वित्न नपाउँदै महालक्ष्मी विकास बैंकले ऋणीहरुको सम्पत्ति लिलामी गन सार्वजनिक सूचना निकालेको छ ।
बुधबार महालक्ष्मीले विजनेश टर्म र बिजनेस ओडी ऋण लिएको हेटौंडाको एमएसबी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र गिता पश्मिना उद्योग सञ्चालकहरुको फोटो समेत टासेर लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना निकालेको छ । घर जग्गा लिलामीमा सहभागी हुन सिलबन्दी बोलपत्र समेत बैंकले आह्वान गरेको छ ।
महालक्ष्मीले बुधबार नै करिब २ दर्जनको फोटो सहितको विवरण टासेर कर्जा चुक्ता गर्न ३५ दिने सूचना समेत निकालेको छ । बैंकको बिर्तामोड, डडेल्धुरा, लम्की लगायतका शाखाहरुबाट ऋण लिनेहरुका नाममा ३५ दिने सूचना निकाल्दै समयसीमा भित्र चुक्ता नगरे धितो लिलाम हुने चेतावनी दिएको छ ।
महालक्ष्मी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ध्रुबराज तिवारीले लिलामीको सूचना पूर्व तयारी अनुसार बुधबार प्रकाशन भएको बताए । राष्ट्र बैंकको नीति मंगलबार मात्रै सार्वजनिक भएको तर बैंकको तयारी अगाडिकै भएका कारण बुधबार लिलामीको सूचना निकालिएको उनले बताए ।
‘राष्ट्र बैंकले हिजोमात्रै भनेको हो, हाम्रो पहिलेकै तयारी भएर आज प्रकाशित भएको हो,’ उनले भने ।