Friday, September 20, 2024

ट्रेन्डिङ :

नोबेल शिक्षण अस्पतालमा १८ घण्टाको अवधिमा १० संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणपछि उपचारका लागि भर्ना भएका १० जनाको १८ घण्टाभित्र मृत्यु भएको हो । मृतकमध्ये पाँच जना ५० वर्षभन्दा कम उमेरका छन् । शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो ।

शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि उनी वैशाख ३० गते अस्पतालमा भर्ना भएका थिए । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ७० वर्षीय वृद्धको पनि गएराति करिब १ बजे मृत्यु भएको छ । उनलाई जेठ २ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिका–१ का ५१ वर्षीय पुरुष र बर्दिवास–५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ५१ वर्षीय पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । बर्दिबास–५ का पुरुषलाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।

शुक्रबार राति करिब १० बजे झापाको कन्काई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–९ का ७५ वर्षीय वृद्धको शुक्रबार बेलुका करिब ७ बजे मृत्यु भएको छ । उनलाई शुक्रबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।

मोरङको धनपालथान गाउँपालिका–६ की ३५ वर्षीया महिलाको पनि शुक्रबार राति ९ बजे मृत्यु भएको छ । उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका–५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–३ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।

भन्सार एजेण्ट संघका अध्यक्षको मृत्यु

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष ५० वर्षीय विजेन्द्र परासरको मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजेतिर उनको मृत्यु भएको हो ।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना संक्रमित विराटनगर महानगरपालिका–१० घर भएका परासरलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या थियो । उनलाई दुई साता अघि कोरोना पोजेटिभ देखिएको थियो । वैशाख ३१ गते उनी अस्पताल भर्ना भएका थिए ।

यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार झापाको गौरादह–४ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?