Sunday, September 8, 2024

ट्रेन्डिङ :

संसद विघटनपछि सतर्क बन्यो गृह, सडकमा निस्कनेलाई पक्राउ गर्न निर्देशन

काठमाडौं : सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । सरकारले प्रतिनिधिसभाको विघटन गरेपछि सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् ।

सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको छ । सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए । बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।

गएराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति घोषणा गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेससहितका ४ दल र सत्तारुढ एमालेको माधव नेपाल समूहले प्रतिगमनविरुद्ध आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । त्यसलगत्तै गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री,सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीसहितको आकस्मिक सुरक्षा बैठक डाकेका थिए । प्रतिपक्ष दलहरुको आन्दोलन गर्ने घोषणा लगत्तै गृहमा सम्भावित राजनीतिक विरोधका कार्यक्रममाथि समीक्षा भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?