काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्त नमाने अलग पार्टी बनाउने चेतावनी दिएको छ ।
बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन अध्यक्ष ओलीसँग आग्रह पनि गरेका छन् । फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन उनीहरुको माग छ । ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा उनीहरुले पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उल्लेख गर्दै फिर्ता लिन माग समेत गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं ।’
यदि एमाले पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी दिइएको छ । ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

