Wednesday, February 26, 2025

ट्रेन्डिङ :

पुनः मन्त्रिपरिषद विस्तारको तयारी, साँझसम्म केही मन्त्रीहरुको सपथ

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्यलाई पुनः तिव्रता दिनुभएको छ । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गर्नुभएको छ ।

आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको एमालेका नेताहरुले बताउनुभएको छ । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उहाँहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

नाम नबताउने शर्तमा एक एमाले नेताले भन्नुभयो, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रकोरुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिनुभयो ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमालेबृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनु भएमा उहाँलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको बुझिएको छ । यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारी पनि गृहमन्त्रालयको इच्छा व्यक्त गर्नुभएको एमाले स्रोतले बताएको छ ।

नारदमुनी राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमाले भित्र शुरुदेखि नै छ । तर उहाँले अहिलेसम्म अवसर प्राप्त गर्नुभएको छैन । सम्भवतः भोली शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित् हुने बुझाई एमाले नेताहरुको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाई छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सुचीकरण गरिसकेको छ ।

त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको छ । महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थाल्नुभएको बुझिएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजदा रहेको मन्त्रालयमा उद्योग बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुलाई समेटेर हिजो शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरिसक्नुभएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?