काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् । उनले भर्चुअलरूपमा अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन् । रुपन्देहीको सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुनेछ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो । शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड-१९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।