Tuesday, September 17, 2024

ट्रेन्डिङ :

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो ।

आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो । बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ ।

‘क्षतिको एकीन विवरण बाढीले पुरिएका सबै संरचना हेरेर विस्तृत अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘आयोजनाको बाँधस्थलको पुनर्स्थापनाका लागि के-के गर्न सकिन्छ भनेर हाम्रो प्राविधिक टोली मेलम्चीमै छ ।’

आयोजनाको क्याम्प बनाउने लगायतका काम गर्ने तयारी भइरहेको छ । श्रेष्ठका अनुसार हेलमबु गाउँपालिकासँगको सहार्यका बाँधस्थलसम्म जाने सडक निर्माणको लागि प्रयास भइरहे पनि सम्भव भएको छैन । आयोजना स्थलमा टोली पुग्ने र फर्किने गरिरहे पनि जोखिम हुनसक्ने भएकाले सहज अवस्था बनेको छैन ।

‘हामी वर्षायाम सकिनुभन्दा अघि नै के-के काम कहिले र कसरी गर्ने भन्ने सबै कार्ययोजना तयार गरिसक्न चाहन्छौं,’ श्रेष्ठले भने, ‘तर, अहिले पनि बाढीले दुःख दिइरहेको छ, नदीले परियोजनाका संरचनामा क्षति पुर्याउने क्रम रोकिएको छैन ।’

हेलिकप्टरबाट एक्स्काभेटर लगेर नदी नियन्त्रण गर्नेबारे छलफल भएपनि त्यहाँ अहिल्यै गएर काम गर्न जोखिम हुने अनुमान गरिएकाले सम्भव नभएको आयोजनाले जनाएको छ ।

अस्थायी बाँधबाट पानी हाल्दै आएको आयोजनाको डाइभर्सन टनेलमा लेदो भरिएको अनुमान छ । ग्याल्थुम र अम्बाथानको अडिट टनेलमा समेत बाढीले क्षति पुर्याएका कारण सुरुङ खाली गराउन नसकेको आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।

कार्ययोजना छलफलमै

सुरुङ सुपरीवेक्षणका लागि भन्दै गत असार १ गते दुई महिनाको लागि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनामा सोही दिन आएको बाढीले विध्वंश मच्चाएको थियो ।
सरकारले समयमै उचित निर्णय लिएर कदम नचाले आयोजनाबाट फेरि काठमाडौंमा पानी ल्याउने मिति पछि सर्दै जाने अवस्था छ ।

मेलम्ची खानेपानी विकास समितिले बाढीग्रस्त मेलम्ची खानेपानी आयोजनाको ‘पुनर्स्थापना कार्ययोजना’को मस्यौदा तयार गरेको छ । खानेपानी मन्त्रालयमा यसबारे छलफल भइरहे पनि नयाँ मन्त्रीको प्रतिक्षा छ ।

प्रधानमन्त्री तथा मनित्रपरिषद कार्यालयमा पनि कार्ययोजनाको मस्यौदा पुगेको छ । समितिले कार्ययोजना कार्यान्वयनको वातावरण बनाउन सरकारसँग आग्रह गर्दै आएको छ । यसअनुसार काम भएमा आगामी माघ-फागुनसम्म काठमाडौंमा फेरि मेलम्चीको पानी ल्याउन सकिने आयोजनाको दाबी छ ।
आयोजनाले सडक र पुलको काम सडक विभागमार्फत गर्न प्रस्ताव गरेको छ । बाँध क्षेत्रलाई पुरेको ढुंगा, बालुवा र माटो पन्छाउन नेपाली सेना परिचालन गर्न वा छुट्टै ठेक्का बन्दोबस्त गर्ने व्यवस्था गर्ने प्रस्ताव आयोजनाको छ ।

थप खर्चसहितको बन्दोबस्त गर्नुपर्ने भएकाले यस्ता निर्णय मन्त्रिपरिषद बैठकबाटै गर्नुपर्ने हुन्छ । ठेकदार सिनो हाइड्रोले यथास्थितिमा साइटमा जान मानेको छैन ।

‘हामी काठमाडौंमा मेलम्चीको खुसी छिटो फर्काउन चाहन्छौं,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्,’त्यसका लागि हामी अहिले योजना तहमा काम गरिरहेका छौं, पहिलेकै जसरी अस्थायी बाँध बाँधेर भएपनि पानी ल्याउँछौं ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?