काठमाडौं : भारतीय एसएसबीले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहायता स्वरुप १० लाख राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाको हालसम्म प्रतिवेदन सार्वजनिक सार्वजनिक गरिएको छैन ।
उक्त घटनाको अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका थिए । साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका– २ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयवासीले एसएसबीले तुइन फस्काइदिएको बताउँदै आएका छन् ।