मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पद जोगाउन पार्टी परिवर्तन नगर्ने बताएकी छन् । शुक्रबार मकवानपुरमा आयोजित कार्यक्रममा सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने र नेकपा एमालेमै रमाउने बताइन् । उनले भनिन्, ‘मुख्यमन्त्री पद जोगाउनकै लागि म पार्टी परिवर्तन गर्दिन । एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेको हुनाले दल परिर्वतन गर्ने मनस्थितिमा छैन र सरकार ढल्छ भन्ने पनि चिन्ता छैन ।’
उलने पद पाएपनि नपाएपनि एमालेमै रहेर रमाउने प्रतिवद्धता जाहेर गरिन् । अब, एमालेमै रहेर फरक मतका साथ वैचारिक संघर्ष गरिरहेने पनि उनले बताइन् । माधवकुमार नेपालनिकट शाक्यले नयाँ पार्टी खोलदै गर्दा नेपाललाई आफूले स्पष्ट रुपले हस्ताक्षर नगर्ने जवाफ दिएको पनि बताइन् । नेपाल समूह एमाले परित्याग गरि नयाँ पार्टीको मान्यता पाएसँगै वाग्मती प्रदेश सभामा पनि हलचल सुरु भएको छ । हाल वाग्मती प्रदेश सभामा १ सय ९ सदस्य रहेका छन् ।
जसमध्ये एमालेको सभामुखसहित ५६ सांसद सभामा रहेका छन् भने सरकार गठनका लागि ५५ सांसदको आवश्यक पर्दछ । एमाले विभाजन भएपछि आधा दर्जनभन्दा बढी सांसदहरु नेपाल समूहको नेकपा (एकीकृत समाजवादी) लागेपछि शाक्यको मुख्यमन्त्री पद धरापमा रहेको छ ।