Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको जारी अनशन आज तोडिने

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको जारी अनशन आज तोडिने भएको छ । उनीहरुले पार्टीको केन्द्रीय कार्यालय, सानेपामा विभिन्न माग राख्दै गत बुधबारबाट धर्ना र अनशन सुरु गरेका थिए । मागहरु आंशिक पूरा भइसकेको भन्दै आज अनशन तोड्न उनीहरु तयार भएका हुन् ।

यसै विषयमा छलफल गर्न आज बिहान रामचन्द्र पौडेल समूहको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास, चाक्सीबारीमा बसेको थियो । बैठकमा आन्दोलनरत जिल्ला सभापतिहरु पनि सहभागी भएको जनाइएको छ । वरिष्ठ नेता पौडेल पक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गर्नुपर्ने र महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने लगायतका माग राखेर धर्ना र अनशन सुरू गरेका थिए । उनीहरुको मागमा पौडेल पक्षका शीर्ष नेताहरूको पनि ऐक्यबद्धता थियो ।

जिल्ला सभापतिहरुको माग अनुसार नै क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको कांग्रेस संस्थापन पक्षले जनाएको छ । प्रारम्भिक चरणमा ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको र बाँकी क्रमश सार्वजनिक गर्दै जाने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैगरी, चाक्सीबारीको आजको बैठकले आफूहरुले उठाएका मागहरु सम्बोधन गर्न सभापति शेरबहादुर देउवा सकारात्मक भएको भन्दै अब महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । समयमै महाधिवेशन गर्नुपर्ने बाध्यताप्रति आफूहरु सचेत रहेको भन्दै यस समूहले महाधिवेशन तयारीमा लाग्ने निर्णय गरेको हो । बैठकमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?