काठमाडौं । सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री, त्यस्तै माओवादीले ६ मन्त्री, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ५–५ मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको एक नेताले जानकारी दिए।
उता प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा मन्त्रालयको भागबण्डामा समेत करिब सहमति जुटाएका छन्। एक नेताका अनुसार देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्ण प्रसाद सिटौलालाई एक–एक मन्त्री दिने तयारी गरेका छन्। ‘वरिष्ठ नेता, महामन्त्री र पूर्वमहामन्त्रीलाई एक–एक मन्त्री दिने तयारी भएको छ। यस विषयमा पनि करिब सहमति जुटिसकेको छ,’ देउवाको कोर टिममा रहेका ती नेताले भने।
यसअघि दुई मन्त्री र एक राज्यमन्त्री बनाइसकेका देउवाले आफ्नो समूहबाट थप दुई जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यसमध्ये पुष्पा भुसाल मन्त्री बन्ने पक्का जस्तै छ। तर, थप एक जनाको बारेमा भने टुंगो लाग्न सकेको छैन। उता वरिष्ठ नेता पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने तयारी गरेका छन्। तर, पौडेलले भौतिक पूर्वाधार मन्त्रालय मागेको स्रोतको दाबी छ। कोइरालाको कोटाबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको चर्चा छ। तर, देउवाले आफ्नो क्याविनेटमा उपप्रधानमन्त्री नबनाउने अडान लिएका छन्। जसका कारण रिजालको मन्त्री बन्ने सम्भावना धेरै छ। नेता सिटौलाले भने उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी गरेका छन्।