Thursday, September 19, 2024

ट्रेन्डिङ :

तालिबानको नियन्त्रण बाहिरको सहर पञ्जशिर उपत्यकामा भीषण युद्ध

अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ ।

यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा धेरै लडाकु मारिएको बताएको छ । पञ्जशिर प्रान्त यसअघि पनि कहिल्यै तालिबानको नियन्त्रणमा आएको थिएन । यो प्रान्तमा ठूलो संख्यामा लडाकुहरु तैनाथ गरिएको विश्वास लिइएको छ ।

एनआरएफमा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि सामेल छन् । अफगानिस्तानका पूर्व सैनिक र स्थानीय लडाकुलाई पञ्जशिरका स्थानीय नेता अहमद मासुदले नेतृत्व गरिरहेका छन् । मासुदका बाबुले सन् १९८० को दशकमा सोभियत संघ र १९९० को दशकमा तालिबानविरुद्ध वीरतापूर्वक युद्ध लडेका थिए ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्ता असफल भएसँगै लडाकुहरु अहिले पञ्जशिर उपत्यकातर्फ लागेको बताएका छन् । तालिबान र पञ्जशिरका नेता दुई फरक ध्रुवमा उभिएसँगै वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार एनआरएफले पञ्जशिरमा जारी युद्धमा ३५० तालिबानका लडाकु मारिएको दाबी गरेको छ । यद्यपि यो संख्या पुष्टि भने हुन सकेको छैन । -एजेन्सीहरुको सहयोगमा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?