Friday, September 20, 2024

ट्रेन्डिङ :

मानवअधिकार आयोगले गृहलाई भन्यो: अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयलाई बिचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिबाट नागरिकको बिचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

दार्चुलाका जयसिंह धामी महाकाली तर्ने क्रममा गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएको घटना तथा मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजनालगायत विषयलाई लिएर भैरहेको आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालयले विज्ञप्ति निकालेको थियो । आयोगले उल्लेखित विज्ञप्तिहरुबाट नागरिकको शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुन पाउने अधिकार समेत कुण्ठित हुन पुगेको देखिएको बताएको छ ।

संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको परिधिभित्र रहेर गरिने बिचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोक लगाउने गरी कनै पनि सूचना विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन आयोग सरकारलाई आयोगले आग्रह गरेको छ । प्रदर्शनकारीहरुले पनि कुनै विषयमा विमती राख्दा मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धप्रति सम्वेदनशील हुन र आफ्ना विरोध प्रदर्शनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आयोगले सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधि गर्ने उपर सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र कानून बमोजिम कडा कारवाही गर्ने व्यहोराका प्रेस विज्ञप्तिहरु प्रकाशित गरेको आयोगले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?