काठमाडौँ- एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेताहरूका घर-घरमा पुगेर भेटघाट गरिरहेको प्रति असन्तुष्टि जनाएका छन् ।
एमसीसीको टोलीले नेताहरूलाई भेटिरहेको बेला बिहीबार एमाले उपध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत संविधान जारी गर्न लाग्दा र सरकार परिवर्तन हुँदाका दृश्य स्मरण गरेका छन् ।
रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दबाब दिने, कस्तो विडम्बना !’ रावलले अगाडि पुकार गरेका छन्, ‘हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सद्बुद्धि देउ !’
बिहीबार बिहान काठमाडौं ओर्लिएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले पहिलो भेट एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन् । अहिले उक्त टोलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटिरहेको छ । त्यसपछि राजनीतिक दलका अन्य नेताहरूका साथै प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।