काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई वा सरकारको प्रस्ताव नआई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् ।
नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलका क्रममा ओलीले त्यस्तो जवाफ दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
बालकोटस्थित ओली निवासमा सुमारको टोली एमसीसीबारे छलफलका लागि पुगेको थियो । बिहीबार नेपाल आएको सुमारको टोलीले पहिलो भेट ओलीसँग गरेको थियो ।
भेटमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहित जिज्ञासा सुमारले राखेको र त्यसको जवाफमा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएको भट्टराईले उल्लेख गरे ।