काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र अराजकता र गुटबन्दी बढेको बताएका छन्। नेकपा माओवादी केन्द्रसँगको एकतापछि त्यो अराजकता र गुटबन्दी झन् बढेको उनले उल्लेख गरेका छन्।
आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा महासचिव पोखरेलले पेश गरेको ५३ पृष्ठ लामो संगठनात्मक प्रस्तावमा उनले सो कुरा उल्लेख गरेका छन्। उनको यो प्रस्ताव असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेश गरिनेछ। १३ बुँदामा समेट्दै उनले पार्टीभित्र अराजकता बढेको, अनुशासनको पालना नभएको कुरा उठाएका हुन्।
‘यतिबेला पार्टीभित्र संगठनात्मक अराजकताको स्थिति देखा परेको छ। विगतमा एमालेभित्र उत्पन्न अन्तरविरोधलाई त्यहीँ भित्रको स्थापित प्रणालीले एक किसिमले बाँधेर राखेको थियो,’ पोखरेलको प्रस्तावमा छ, ‘माओवादी केन्द्रसँगको एकतापछि त्यो अवस्था रहेन। माओवादी भित्रको व्यक्ति केन्द्रीत संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताका रुपमा संस्थागत भयो र दुई पार्टीबीचको एकतापछि नेकपामा सर्यो ।
माओवादी अध्यक्ष प्रचण्डमा रहेको व्यक्ति केन्द्रित अवसरवाद एमालेभित्रको समूहमा अन्तरघुलन भई पार्टी र आन्दोलन नै संकटमा पर्ने अवस्था सिर्जना भएको पोखरेलले उल्लेख गरेका छन्। उनले माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरूलाई लक्षित गर्दै अराजकताको अन्त्य नभएको उल्लेख गरेका छन्।
‘पार्टीबाट माधव नेपालको नेतृत्वमा एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या अन्त्य हुने छैन,’ पोखरेलको प्रतिवेदनमा छ, ‘आगामी दिनमा योजनाबद्धरुपमा संगठनात्मक अराजकता र गुटबन्दीका विरुद्धमा वैचारिक र राजनीतिक अभियान चलाउनुपर्छ।’
आदर्श र व्यवहारबीचको अन्तरविरोध, जन संगठनको प्रभावकारी परिचालनको समस्या, परिणाममुखी कार्य विभाजनको समस्या, काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापनको समस्या, पार्टी काममा दोहोरो पनको समस्या, वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्या नेताहरुको मूल्यांकनको समस्याजस्ता विषयलाई महासचिव पोखरेलले प्रतिवेदनमा उल्लेख गरेका छन्।
यस्तै संगठनात्मक अराजकता र गुटबन्दीको समस्या, गैर भौगोलिक क्षेत्रको कामको संयोजनको समस्या, वैधानिक व्यवस्था अनुरुप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, ठूला आकारका कमिटीहरु सञ्चालनको समस्या, पार्टी सदस्यता मापदण्ड पालनाको समस्या, अध्ययन र प्रशिक्षणको कमी गरी १३ बुँदामा पार्टी निर्माणमा देखिएका समस्या उल्लेख गरेका छन्।
महासचिव पोखरेलले पुस ५ पछि नेकपा एमालेमा युवाहरुको आर्कषण बढेको दाबी गरेका छन्। उनीहरुलाई व्यवस्थित कार्ययोजनासहित काममा जोड्न आवश्यक छ,’ पोखरेलले लेखेका छन्, ‘तर त्यसको व्यवस्थित अभिलेख अझै तयार हुन सकेन।’