प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकामा मेरुदण्ड पक्षघात समूहले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । अर्थ मन्त्रालयमा आज मन्त्री शर्मालाई भेटी सो समूहले धन्यवाद दिएको हो । भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताउनुभयो । उहाँले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने उल्लेख गर्नुभयो ।
“आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ”, उहाँले भन्नुभयो, “अब एक÷दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईंहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन ।”
मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गर्नुभयो । मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्ति रहेका छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताउनुभयो । “इन्ज्युरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ”, उहाँले भन्नुभयो, “हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्युरी भएकाहरूका तर्फबाट धन्यवाद छ ।”
भेटपछि कार्यान्वयनको पक्षमा आफूहरूको आशङ्कासमेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थमन्त्रीको आश्वासनले आफूहरू हर्षित र सन्तुष्ट भएको बताउनुभयो । स्पाइनल कर्ड इन्ज्युरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले रु पाँच हजारदेखि रु आठ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत छन् । बाँकी ४५ प्रतिशतलाई रु पाँच हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।