काठमाडौं । प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत आज (सोमबार) बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोधलाई कायम राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए । आजको बैठकमा एमाले सांसदहरुले नयाँ नारा लगाएका छन् । उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका हुन् ।
सभामुख सापकोटाले दल विभाजनमा ‘सहयोग’ गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरेर ल्याइएको बजेटमा सरकारले ‘लगानीमा स्रोत नखोजिने’ भनेर गरेको व्यवस्थाको एमाले सांसदहरुले विरोध जनाएका छन् ।
एमाले सांसदहरुले सरकारले कालो धनलाई वैधानिकता दिन लगानीको स्रोत नखोजिने व्यवस्था गरेको आरोप लगाएका छन् । संसदमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक अध्यादेश २०७८ मा ‘आयकर ऐन, २०५८’ संशोधन गर्दै दफा ११ मा सुर्ती तथा मदिराजन्यबाहेकका उद्योगमा ‘लगानीको आयस्रोत खोजिनेछैन’ भन्ने व्यवस्था राखिएको छ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बेसेसँगै बैठक असोज १४ गते सम्मका लागि स्थगित गरिएको हो । आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो ।
बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । आज बसेको प्रतिनिधिसभाको बैठक ६ मिनेटमै सकिएको छ । एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित गरिएको हो ।