शेयर बजार लगातार घटेपछि लगानीकर्ता अत्तालिन थालेका छन्। सर्वाधिक उचाइमा पुगेकाे सूचक लगातार घट्दो लयमा गएपछि लगानीकर्ताले आफ्नो मूल धनमै घाटा खाँदै भटाभट शेयर बिक्री गर्न थालेका छन्।
लगानीकर्ताले अत्तालिएर स्टप लसको बाटो रोज्न थालेपछि सरकारको आम्दानी समेत लगातार घट्दो अवस्थामा देखिएको छ।
गत साउनमा सर्वाधिक पूँजीगत लाभकर सङ्कलन गरेको सरकारले भदौमा साउन जतिको पनि लाभकर प्राप्त गर्न सकेन। असोजमा झन भदाैकाे जति पनि नहुने देखिएकाे छ। गत साउनमा सरकारले पूँजीगत लाभकर स्वरूप तीन अर्ब २४ करोड रुपैयाँ सङ्कलन गरेको थियो। उक्त महिना सरकारको साप्ताहिक पूँजीगत लाभकर असुली ८१ करोड रुपैयाँ रहेको थियो। साउनमा जम्मा ६६ करोड कित्ता शेयर कारोबार भएको थियो। २७ लाख कारोबारमा उक्त रकम सङ्कलन भएको थियो भने दुई खर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै शेयर किनबेच भएको थियो।
भदौ महिनामा कारोबार रकम, कारोबार शेयर सङ्ख्या र कारोबार सङ्ख्या अत्याधिक बढेको भएपनि सरकारले बढेको कारोबार अनुसारको आम्दानी गर्न सकेन। भदौमा सरकारले जम्मा दुई अर्ब २८ करोड रुपैयाँ मात्रै पूँजीगत लाभकर सङ्कलन गर्न सफल भयो। जुन साउनको तुलनामा ४२.१६ प्रतिशत कम हो। जबकि कारोबार रकम बढेर पाँच खर्ब २१ करोड रुपैयाँ पुगेको थियो। याे साउनको तुलनामा कारोबार रकम ८५.७३ प्रतिशत बढेको थियो। कारोबार रकम मात्रै होइन कारोबार हुने शेयर सङ्ख्या एक अर्ब नाघेको थियो। याे साउनको तुलनामा ६० प्रतिशत भन्दा बढी थियो भने कारोबार सङ्ख्या ८५ प्रतिशत भन्दा बढी थियो। भदौमा ५१ लाख कारोबार भएका हुन्।
कारोबार रकम,कारोबार हुने शेयर सङ्ख्या र कारोबार सङ्ख्या बढ्दै जानु तर पूँजीगत लाभकर भने घट्दै जानुको कारण स्टप लसलाई लिइएको छ। लगानीकर्ताले घाटामै धेरै शेयर बिक्री गर्ने ट्रेन्ड बढ्दै गएपछि पूँजीगत लाभकर घट्दै गएको हो। करिब ५० प्रतिशत लगानीकर्ताले भदौमा घाटामा शेयर बिक्री गरेको अनुमान सिडिएससिले गरेको छ। “शेयर बजार लगातार घट्न थालेपछि लगनीकर्ताले अत्यधिक स्टप लस बढाइएका छन्। उनीहरूले स्टप लस गरेकै कारण कारोबार रकम र सङ्ख्या बढेको भएपनि पूँजीगत लाभकर बढ्न सकेन। किनकि नाफामा मात्रै पूँजीगत लाभकर असुलिने भएकोले पनि लाभकर कम हुँदै गएको हो” सिडिएससिका एक अधिकारीले मेरो लगानीसँग भने।
पछिल्लो समय बजारमा दैनिक ट्रेड गर्ने लगानीकर्ता बढ्दै गएका छन्। सिडिएसिकै तथ्याङ्क अनुसार ८० प्रतिशत लगानीकर्ताले एक महिना पनि शेयर नराख्ने गरेको देखाएको छ। गत साउनमा उठेको साढे सात प्रतिशत पूँजीगत लाभकर तिर्ने लगानीकर्ताको गणनाको आधारमा सिडिएससिले ८० प्रतिशत लगानीकर्ताले एक महिनामै शेयर बिक्रीको आधारमा उक्त अनुमान गरेको थियो। यकिन तथ्याङ्क आउन समय लाग्ने भएपनि प्रारम्भिक अनुमानमा ८० प्रतिशत लगानीकर्ताले एक महिना पनि शेयर नराख्ने गरेको देखिएको सिडिएसिले भनेको थियो।
८० प्रतिशत लगानीकर्ता ट्रेडरको रुपमा बजारमा हाबी भएकै कारण स्टप लस पनि बढ्दै गएको हो। ट्रेडको लागि शेयर किन्ने लगानीकर्ताले निश्चित प्रतिशत घाटा भए लगत्तै शेयर बिक्री गर्ने गरेका छन्। जसको अभ्यास नेपाली बजारमा बढ्दै गएको छ। घाटामै शेयर बिक्री गर्ने लगानीकर्ता हाबी हुँदै गएपछि सूचकमा समेत दबाब देखिन थालेको छ।
भदौमा स्टप लस अत्यधिक बढाएका लगानीकर्ताले असोजमा पनि निरन्तरता दिँदै आएका छन्। भदौमा भन्दा बढी असोजको पहिलो हप्ताको स्टप लसको ट्रेन्ड अझ डरलाग्दो देखिएको छ। जसको कारण सूचकमा समेत चर्को दबाब देखिन थालेको छ। असोजमा गत आइतबारसम्म ६४ अर्ब रुपैयाँको कारोबार भई सकेको छ। १० करोड कित्ता शेयर आइतबारसम्म किनबेच भइसकेका छन्। सात लाख ७१ हजार कारोबारमा उक्त रकम बराबरका शेयर खरिद बिक्री भएका हुन्। उक्त अवधिमा सरकारले भने जम्मा ४३ करोड ८९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ। यही अनुपातमा स्टप लस हुँदै गएमा असोजमा सरकारको आम्दानी भदौमा भन्दा कम हुने अनुमान गर्न थालिएको छ। पहिलो हप्ताकै रकम अनुसार असुली भए यो महिना पूँजीगत लाभकर उठ्थी एक अर्ब ७५ करोड मै सीमित हुने छ।
भदौ दुई गते ३१९९.०३ अंकको सर्वाधिक उचाइ कायम गरेपछि बजार लगातार घट्दो क्रममा देखिएको छ। भदौ भरीनै बजारले उक्त अंक पार गर्न नसकेका कारण उक्त अंकको सेरोफेरोमा शेयर किनेकाहरू भटाभट स्टप लसतर्फ लागेका हुन्। सोही कारण पनि भदौमा स्टप लस अत्याधिक देखिएको हो। यही रफ्तारमा बजार घट्दै गए थप यो क्रम बढ्ने अनुमान गर्न थालिएको छ। किनकि त्यसयता मंगलबारसम्म बजार ५८३.६३ अंकले घटिसकेको छ।