दसैंका लागि काठमाडौं उपत्यकामा ३८ हजार खसीबोकाको आपूर्ति हुने भएको छ । गत वर्ष २९ हजार ७७५ वटा खसी–बोका उपत्यका भित्रिएकोमा यो वर्ष माग बढेपछि आपूर्ति बढाइएको कृषि तथा पशुपंन्छी मन्त्रालयले जनाएको छ । हाल काठमाडौं उपत्यकामा खसीबोकाको दैनिक माग १ हजार रहेको छ । दसैंका लागि थप करिब ३८ हजार खसीबोका आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको हो ।
३८ हजार खसीबोका मात्रै आयात हुने मन्त्रालयका सूचना अधिकारी चन्द्र ढकालले बताए । उनका अनुसार च्याङ्ग्रा आयातको लागि मन्त्रालयमा छलफल भइरहेको छ । मनाङ र मुस्ताङमा दसैं लक्षित गरेर च्याङ्ग्रा पालन हुने भएकाले चीनबाट भन्दा स्वदेशी च्याङ्ग्रा नै दसैंमा ल्याउने योजना रहेको उनले जानकारी दिए । यद्यपी आपूर्ति गर्ने च्याङ्ग्रा र संख्याको विषयमा भने छलफल चलिरहेको छ ।
दसैंका लागि भारतलगायत अन्य मुलुकहरुबाट खसीबोका आयात नहुने भएको छ । स्वदेशी उत्पादनले नै माग धान्ने भएपछि भारतबाट आयात नहुने भएको हो । ‘खसीबोका व्यवसायी संघ, किसानका समूह तथा सहकारीले स्वदेशी खसीबोका ल्याउने क्रम पनि रहेको र बाहिरबाट आउने खसीबोकामा स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले आयात गर्ने संख्या धेरै घटेको छ’ उनले भने ।
उपत्यकामा प्रदेश नम्बर १ बाट ११ हजार, प्रदेश २ बाट ६ हजार, बाग्मती प्रदेशबाट १७ हजार ५ सय, गण्डकी प्रदेशबाट २ हजार ५ सय, लम्बिनी प्रदेशबाट ७ हजार ५ सय, कर्णाली प्रदेशबाट ७ हजार र सुदुरपश्चिम प्रदेशबाट ९ हजार वटा खसीबोका भित्रिने मन्त्रालयले जनाएको छ ।
नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले पनि दसैं लक्षित गरेर थप २ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने जनाएको छ । कम्पनीले उपत्यकामा ल्याउन लागिएका खसीबोका तथा च्याङ्ग्रा वीरगञ्ज र तुल्सिपुरबाट आपूर्ति हुने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।
सूचना अधिकारी सुवेदीकाअनुसार च्याङ्ग्रा आयात गर्ने योजना रहे पनि अभाव हुँदा आपूर्ति हुने सम्भावना न्यून रहेको छ । गत वर्ष पनि खाद्य व्यवस्था व्यापार कम्पनीले च्याङग्रा आयात गरेको थिएन । ‘गत वर्ष पनि च्याङ्ग्रा आयात भएको थिएन यो वर्ष ल्याउने भनिए पनि उपलब्ध हुन सकेको छैन, खसीबोकाको मात्रै आयात हुन्छ होला ।’ उनले भनिन्, ‘पोहोर १५ सय १४ वटा खसीबोका आपूर्ति भएको थियो, यो वर्ष बढाएर २ हजार वटा ल्याउने तयारी गरेका छौं ।’
खसीबोका थापाथलीबाट मात्रै बिक्री वितरण हुने कम्पनीले जनाएको छ । दसैंमा कालोबजारी नबढोस् र विचौलियाको प्रवेश गर्न नदिने उद्देशयले सुपथ मूल्यलाई लक्षित गरेर खसीबोका तथा च्याङ्ग्राको आयात गर्ने कम्पनीले जनाएको छ । कम्पनीले विदेशबाट नभइ स्वदेशी किसानकै पशुचौपाय खरिद गर्ने भएको छ । कम्पनीले खसीबोकाको बिक्री घटस्थापना सुरु भएपछि मात्रै गर्ने जनाएको छ ।