बंगलादेशलाई पछि पार्दै भियतनाम विश्वको दोस्रो ठूलो रेडिमेड गार्मेन्टको निर्यातकर्ता बनेको छ । रेडिमेड गार्मेन्ट निर्यातमा चीनले पहिलो स्थान ओगेटको छ । भियतनाम दोस्रोमा उक्लेसँगै बंगलादेश तेस्रो ठूलो गार्मेन्ट निर्यात राष्ट्रमा झरेको छ ।
विश्व व्यापार संगठनले प्रकाशित गरेको विश्व व्यापार तथ्यांक विश्लेषण २०२१ का अनुसार बंगलादेशको बजार अंश कुल गार्मेन्ट निर्यातको ६.३ प्रतिशत रहेको छ जुन अघिल्लो वर्ष ६.८ प्रतिशत थियो । सन् २०२० को बंगलादेशको रेडिमेड गार्मेन्ट निर्यातको बजार मूल्य २८ अर्ब डलर रहेको थियो जुन अघिल्लो वर्षको ६.८ प्रतिशतको वृद्धिदरबाट घटेर ६.३ प्रतिशतमा झरेको हो ।
सन् २०२० को अन्त्यसम्म भियतनामको गार्मेन्ट निर्यातको बजार मूल्य २९ अर्ब डलर रहेको छ । विश्वको गार्मेन्ट निर्यात बजारमा सन् २०१० मा भियतनामको शेयर २.९ प्रतिशत मात्र थियो भने बंगलादेशको ४.२ प्रतिशत थियो । कोरोना महामारीलगायतका अन्य विविध कारणले विश्वको गार्मेन्ट निर्यात बजारमा बंगलादेश भियतनामभन्दा पछि रहनु परेको बंगलादेशका गार्मेन्ट उत्पादक र अर्थशास्त्रीहरुले बताएका थिए ।
अन्तर्राष्ट्रिय ब्रान्ड एवम् खुद्रा कपडा व्यापारीको कठोर स्ट्यान्डर्ड कायम राख्न नसक्दा बंगलादेशका धेरै साना रेडिमेड गार्मेन्ट कारखाना विगत केही वर्षमा बन्द भएका कारण पनि बंगलादेशको गार्मेन्ट निर्यात अत्यन्तै घटेको तथ्यांक देखिएको हो । ती अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनीहरुले बंगलादेशलाई एकदमै न्यूनतम मूल्य मात्र सिफारिस गरेकाले पनि साना रेडिमेड गार्मेन्ट कारखाना बन्द गर्नु परेको हो ।
तर भियतनामले भने एकदमै प्रतिस्पर्धात्मक दरमा रेडिमेड गार्मेन्ट उत्पादन गर्नुको साथै उसले आफ्नो सामानको विविधिकरणमा पनि विशेष ध्यान दिएको छ । भियतनामले दिएको मूल्यमा बंगलादेशले सामान निर्यात गर्न सकेको छैन । अर्थशास्त्रीहरुका अनुसार भियतनामले २०१९ को जुनमा युरोपियन युनियन (इयु)सँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) गरेको थियो जसले भियतनामलाई विश्वकौ सबैभन्दा ठूलो व्यापार ब्लकमा शून्य भन्सारको सुविधा दिलायो । भियतनामले इयुसँग सम्झौता गरेपछि नै बंगलादेशले भियतनामबाट चुनौतीको सामना गर्नुपरेको हो । भियतनामको रेडिमेट गार्मेन्ट क्षेत्रमा चीनको ठूलो लगानी छ । यसले भियतनामको निर्यात व्यापारमा अहम भुमिका खेलेको छ ।
विश्वमा बंगलादेश सस्तो दरमा कम गुणस्तरीय रेडिमेड गार्मेन्ट उत्पादन गर्ने देशको रुपमा प्रख्यात छ भने भियतनामले उच्च गुणस्तरीय गार्मेन्ट उत्पादन गर्छ । भियतनामसँग बलियो ब्याकवार्ड लिंकेज र शिक्षित कामदार छन् । बंगलादेश र भियतनाम विश्वको दोस्रो र तेस्रो ठूलो निर्यातक राष्ट्र भए पनि दुई देशको व्यापारको गतिशिलता र वातावरण एकदमै भिन्न प्रकृतिको रहेको छ । विज्ञहरुले बंगलादेशलाई निर्यात गर्ने आफ्नो रेडिमेट गार्मेन्टको सामानहरुको विविधिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
बंगलादेशका अर्थविद् प्रा मुस्ताफिजुर रहमानका अनुसार दशकौंदेखि बंगलादेश र भियतनामले रेडिमेड गार्मेन्टको निर्यातमा प्रतिस्पर्धा गरिरहेका छन । गत वर्ष भियतनामको स्थान बंगलादेशको भन्दा तुलनात्मक रुपमा राम्रो देखियो तर यस वर्ष बंगलादेशले पनि चीन, भारत र अझ भियतनामका खरिदकर्ताले पनि अर्डर बढाइरहेको बताए । उनका अनुसार बंगलादेशले पुनः दोस्रो स्थान प्राप्त गर्न सफल हुनेछ । पछिल्लो समय भियतनाम श्रम उत्पादकत्व, पुँजी उत्पादकत्व र विविधिकरणमा धेरै नै अगाडि देखिएका छन् । बंगलोदशको श्रम बजारमा श्रमिकको क्षमता अभिवृद्धि गरेर कम गुणस्तरदेखि उच्च गुणस्तरका सामानहरुको उत्पादन गरेर वस्तु विविधिकरणमा ध्यान दिनुपर्ने बताए । ‘बंगलादेशले त्यस्ता सामान उत्पादन गर्नुपर्छ जसले वस्तुको मूल्य अभिवृद्धि गर्न सहयोग गरोस् ।’–उनले भने । अबको भविष्यको निर्यातजन्य गार्मेन्ट भनेको सिन्थेटिक फाइबरको प्रयोगमा निर्भर हुन्छ । बंगलादेशले यसवर्ष मानवनिर्मित फाइबरजन्य उत्पादनहरुमा १० प्रतिशत नगद अनुदानको माग गरिरहेका छन् । सरकारले यसलाई सम्बोधन गरेर भन्साररहित बनाउनुपर्ने उनले बताए ।
(बंगलादेशको ढाका ट्रिबुन अनलाइनबाट साभार)