धनकुटा, १६ असोज
धनकुटा र तेह्रथुमको सिमाना रहेको चित्रे बजारमा स्थानीय केही व्यक्तिले सार्वजनिक तथा सामुदायिक वनको जग्गा अतिक्रमण गरेका छन् ।
लालीगुराँस नगरपालिका ४ चित्रे बजारको मुख्य सडकमाथि रहेका सार्वजनिक जग्गा र चित्रे बजारबाट फुलेक जाने शाखा सडकको दायाँबायाँ रहेको चित्रे सामुदायिक वनको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका हुन् । मुख्य सडकमाथिको जग्गामा घरटहरा धमाधम निर्माण भइरहेका छन् भने सामुदायिक वनको जग्गामा घडेरी खार्ने काम गरिएको छ । शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सार्वजनिक तथा सामुदायिक वनको जमिन अतिक्रमित हुँदै गएको स्थानीयको भनाइ छ ।
जग्गा अतिक्रमण भएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले ५ असोजमा अतिक्रमित जग्गामा बनेका घर टहरा एक हप्ताभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । तर, सूचना जारी गरेको साता वितिसकेकाले अब नगरपालिकाले टहरा हटाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराजन श्रेष्ठले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम अनुरोध गरिएको र सो को बेवास्ता भएकाले सोही अनुसार घरटहरा हटाइ सोको खर्च सम्बन्धी व्यक्तिबाट असुल गरिने श्रेष्ठले बताए ।
यस्तै चित्रे सामुदायिक वनको जग्गा तत्काल खाली गर्न बसन्तपुर सवडिभिजन वन कार्यालयले ७ असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । तर, स्थानीयले सूचनाको बेवास्ता गरेकाले प्रदेश वन ऐन २०७७ को बर्खिलाप भएकाले सो ऐनअनुसार कानुनी कारवाही गरिने सहायक वन अधिकृत सोमेश्वर कुमार दासले बताए ।
धनकुटाको महालक्ष्मी नगरपालिकाका केही व्यक्ति गएर सार्वजनिक तथा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने तथा घडेरी खार्ने काम गरिरहेको स्थानीय बताउँछन् । सार्वजनिक तथा सामुदायिक वनको जग्गा अतिक्रमण गर्नु कानुन विपरीत भएको र त्यो जग्गा अतिक्रमण गर्ने व्यक्ति सुकुम्बासी नभएको कारण खाली गर्न भनिएको लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले बताए । उनले जग्गा खाली नगरे कानुन अनुसार अघि बढ्ने चेतावनीसमेत दिए ।