बुद्ध एयरले गत असोज ११ गते बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ९एन-एजेओ र सोही दिन काठमाडौंबाट विराटनगर उडेको एटीआर ९एन-एएनआई जहाजमा समस्या आएपनि प्राविधिक टोलीले परीक्षण गरी उडान गर्न स्वीकृति दिएपछि मात्रै उडाएको बताएको छ।
आइतबार खण्डन पत्रमार्फत बुद्ध एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले प्राविधिक समस्या आएका दुवै जहाजलाई सफल रुपमा काठमाडौं अवतरण गराएर प्राविधिक जाँच गरिएको जनाएका छन्। उनले कम्पनीले कहिल्यै यात्रुको सुरक्षासँग सम्झौता नगरेको पनि स्पष्ट पारेका छन्।
प्राविधिक जाँच पछि जहाज उडाउन योग्य भनी रिपोर्ट आएपछि मात्रै ९एन-एएनआई जहाज असोज १२ गते उडाएको कम्पनीले दाबी गरेको छ।
साथै, कम्पनीले काठमाडौंदेखि विराटनगर उडेको जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत जाँच गरी उडान भर्न स्वीकृति दिएपछि असोज १२ देखि उडाएको जनाएको छ।
‘हाम्रो प्राविधिक टिम र नेपाल नागरिक उड्डयन प्राधिकरणले मिहिन ढङ्गले परीक्षण गरी केही खराबी नभेटिएपछि उडान गरेका हौं,’ कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले जारी गरेको खण्डन पत्रमा भनिएको छ।