काठमाडौँ । भाडा समायोजनको माग राख्दै काठमाडौँमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सोमबार सेवा बन्द गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौँ उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको हो । यातायात व्यवसायीहरुले उपत्यकाका विभिन्न स्थानमा सडकमा नै आफ्ना बस, ट्याक्सीलगायतका सवारी रोकेका छन् ।
व्यवसायीको प्रदर्शनका कारण चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । अन्य समयको तुलनामा सोमबार गाडी कम हुँदा सडकमा सर्वसाधारण समस्यामा परेका छन् । ट्याक्सी यातायात व्यवसायी टेकराज सोडारीले पटक–पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि विरोध गर्नुपरेको बताए ।
सरकारले आफूहरुको माग पूरा नभएको भन्दै यसअघि यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका थिए । तर, आफूखुसी भाडा बढाएको भन्दै ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।
-नागरिक खबरबाट