खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण शुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।
गत वर्ष एक हजार खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार वटा खसीबोका बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले जानकारी दिइन् ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ ।
कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौंडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि न्यौपानेले बताइन् । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसीबोका बिक्री गर्ने उनले बताइन् ।
दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।