वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमिकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताउनुभएको छ । मन्त्रालयको आज जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले तराई मधेश अन्नको भण्डार भएकाले यसको दिगो संरक्षणका लागि चुरेको संरक्षण आवश्यक रहेकामा जोड दिनुभयो ।
वन मन्त्रालय जनताको जीवनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै मन्त्री यादवले सरकारको साझा न्यूनतम कार्यक्रमअनुसार मन्त्रालयका नीति तथा योजना अघि बढाउने धारणा व्यक्त गर्नुभयो । सोही कार्यक्रमअनुसार चुरे क्षेत्र उत्खनन गरी ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने कार्य रोक्ने उहाँको भनाइ थियो ।
जैविक विविधताविरुद्ध भइरहेका अनावश्यक गतिविधि नियन्त्रण गर्न सरोकारवाला सबै निकाय सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले जलवायुका क्षेत्रमा भइरहेका परिवर्तनले हुने क्षति रोक्न नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्तरूपमा कुरा उठाउनुपर्ने बताउनुभयो ।
उहाँले वन तथा वतावरणका क्षेत्रमा नकारात्मक प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने र यसका लागि कर्मचारीलाई थप प्रयत्न गर्न आग्रह गर्नुभयो । साथै उहाँले मन्त्रालयका चुनौती र समस्याको समाधानका लागि आफूले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले मन्त्रीको कार्यकाल सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै विज्ञ कर्मचारी परिचालनका लागि नेतृत्वको प्रभावकारी भूमिकाको अपेक्षासमेत गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सहसचिव शिव वाग्लेले मन्त्रालयका गतिविधि, साङ्गठनिक संरचना, नीति कानूनलगायत विषयमा जानकारी गराउनुभएको थियो । आजै मन्त्रीको सपथ लिनुभएका मन्त्री यादवले नेपालको वन तथा वातावरण क्षेत्र सुधारको रणनीतिक कार्ययोजनामा हस्ताक्षर गरी पहिलो निर्णय गर्नुभएको थियो ।