Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

पर्यटन पूर्वाधारले रोकियो गाउँको बसाइसराइ

spot_img
spot_img

बागलुङ, ७ कार्तिक

भूगर्भ शास्त्रमा स्नातक गरेका बागलुङ नगरपालिका–७ निवासी २८ वर्षीय प्रदीप गौतम जागिरको खोजी लागेनन् । चितवनमा स्नातक तहको पढाई सकेर गौतमले आफ्नै गाउँ फर्केर होटेल व्यवसाय अंगालेका छन् ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा पर्यटन पूर्वाधार तयार भएपछि भान्सा, सिम क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो । गाउँमै पर्यटकको चाप बढेपछि त्यही मौकालाई अवसरमा बदल्दै गौतमले पञ्चकोट नजिकै तीस लाख रुपियाँ लगानी गरेर होटेल सञ्चालन गरेका हुन् ।

कुनै समय अनकन्टार चितुवा लुक्ने भीरको रूपमा परिचित पञ्चकोटमा स्वामी कमलनयन आचार्यको पहलमा आकर्षक पर्यटकीय पूर्वाधारको निर्माण पश्चात् सो क्षेत्रको चर्चा चुलिएको छ ।

पञ्चकोटमा राखिएको विशाल हनुमानको प्रतिमा, कशल, कलात्मक मठ मन्दिर, गरुडशिला, गुफा पञ्चकोट क्षेत्रका मानव निर्मित पर्यटकीय आकर्षण हुन् । भान्सा सिम र पञ्चकोटबाट आँखै अगाडी देखिने धौलागिरि, माछापुच्छ्रे हिमालले प्रकृति प्रेमी पर्यटकलाई मोहित बनाउने गरेको छ ।

स्वदेश तथा विदेशमा पञ्चकोट क्षेत्रको चर्चा चुलिएपछि त्यस क्षेत्र आसपासको बस्ती भान्सा र सिम गाउँको बसाइँ सराइ रोकिएको छ । युवा पुस्ताले पर्यटकीय सुन्दरता र पञ्चकोटमा आउने पर्यटकलाई लक्षित गरी किराना पसन, साना होटेल, रेस्टुरेन्ट, खाजा घर तयार गरी व्यवसाय गर्न थालेका छन् ।

‘पढ्ने बेलामा गाउँ छोडेर चितवन नै बस्ने मन थियो,’ गौतमले भने,‘अहिले चितवन छोडेर गाउँ फर्केर यतै बस्ने सोच बनाएको छु ।’ यहाँको प्राकृतिक सुन्दरतालाई व्यावसायिक बनाउन पहल गर्ने उनको भनाई छ । दैनिक सयौं संख्यामा आउने पर्यटकलाई लक्षित गरी होटेल व्यवसाय सञ्चालन गरेको गौतमले बताए ।

धौलागिरि हिमालको आँगनमा देखिने सुन्दर बस्ती हो, बागलुङ नगरपालिका–६ भान्सा सिमको गाउँ । विगत एक दशकअघि सुनसान रहेको उक्त गाउँमा अहिले दैनिक चहलपहल हुन्छ । भान्साको बस्तीको शिरमा रहेको पञ्चकोटको कारण पनि यो गाउँको महत्त्व बढ्दै गएको हो ।

पञ्चकोटमा रहेका मानव निर्मित विशाल मूर्ति र त्यहाँको प्राकृतिक तथा कृत्रिम पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले कुनै समय सुनसान भान्सा क्षेत्रमा अहिले पर्यटकको चहलपहल देखिन्छ । पञ्चकोटमा पर्यटकीय संरचना निर्माण भएपछि भान्सादेखि बसाइसराइ रोकिएको बानपा–६ का वडा सचिव रुद्रबहादुर केसीले बताए ।

‘पहिले पहिले यहाँको घरजग्गा बेचेर तराई छिर्ने चलन थियो,’ उनले भने,‘पञ्चकोटको चर्चा चुलिए पछि बसाइँ सर्ने क्रम रोकिएको छ ।’ युवा पुस्ताले आफ्नै गाउँमा किराना पसल, खाजा नास्ता तथा होटेल व्यवसाय सञ्चालन गर्न थालेको केसीले बताए ।

बादलको घुम्टो हटेपछि भान्साका हरेक घरको छतबाट आँखै अगाडी धौलागिरि हिमालय रेन्ज देखिन्छ । पञ्चकोट पर्यटकीय क्षेत्रको रूपमा विकास भएपछि भान्सा क्षेत्रमा आरसिसी घर बन्न थालेका छन् । कुनै दिन बाँझो जमिन गरी खाने व्यक्ति पाउन कठिन हुने भान्सा क्षेत्रको जग्गा जमिन अहिले घडेरीको रूपमा बिक्री हुन थालेको सचिव केसीले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?