शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तालिमप्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार काम गरेर परिणाम निकाल्न आग्रह गर्नुभएको छ ।
मन्त्री पौडेलले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को कार्यालय निरीक्षण गर्दै उहाँले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा अहोरात्र खट्न र गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभयो ।
विश्व बैंकको रु छ अर्ब ऋण सहयोगमा सो परियोजनाको दोस्रो चरणको कार्यक्रमले आगामी असार मसान्तसम्ममा एक लाख १५ हजारलाई सीपयुक्त तालिम दिने लक्ष्य लिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिनुभयो ।
यसैबीच मन्त्री पौडेलले इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसका अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षरोपण गर्नुभयो ।