Wednesday, November 27, 2024
spot_img

ट्रेन्डिङ :

समायोजनले सुध्रिएका विद्यालय : कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

spot_img
spot_img

तुलसीपुर, १८ कात्तिक (रासस) : दाङ घोराहीको हरिद्वार प्रावि न्यून विद्यार्थी भएको एक विद्यालय थियो । जहाँ कुनै समय १२ जनामात्रै छात्रछात्रा अध्ययनरत थिए । विद्यार्थी न्यून र शिक्षण सिकाइ पनि प्रभावकारी नभएपछि हरिद्वार प्राविलाई घोराही नजिकैको चौघेरा माविको जिम्मा लगाइयो । यो विद्यालय समायोजन हुने भन्ने हल्ला थियो । यसो गर्दा विद्यालयको सबै संरचना शून्य हुन्थ्यो । तर यहाँ फरक नीति लिइयो । घोराही उपमहानगरपालिकाले नजिकैको राम्रो विद्यालयमा समायोजन गर्ने र त्यसले दुवैतर्फका विद्यालय सञ्चालन गर्ने गरी नीति कार्यान्वयन अघि बढायो ।

चौघेराको हरिद्वार प्राविलाई यही नीतिमा समेटियो । व्यवस्थापनसहित सबै जिम्मा चौघेरा माविलाई दिइयो । थोरै विद्यार्थी हुने विद्यालयमा सङ्ख्या ह्वात्तै बढेको छ । कुनै बेला विद्यालयमा १२ विद्यार्थी हुनेमा अहिले ३०० भन्दा बढी रहेको प्रधानाध्यापक श्याम मल्लले बताउनुभयो । “समायोजन भनेर विद्यालय गाभ्ने भन्दा जुन विद्यालयमा कम विद्यार्थी छन्, त्यसलाई नजिकै राम्रो ढङ्गले सञ्चालन भएकालाई व्यवस्थापन जिम्मा दिएको थियो । सोहीअनुसार हाम्रो नजिकै रहेको हरिद्वार विद्यालयलाई हामीले हेर्नुपर्ने भयो”, उहाँले भन्नुभयो, “हाम्रो जिम्मेवारीमा त्यो विद्यालय आउँदा त्यहाँ १२ जनामात्रै पढ्थे । अहिले त्यही ठउँमा तीन सय अध्ययन गरिरहेका छन् ।” हरिद्वार र चौघेराको दूरी करिब ढेड किलोमिटर मात्रै छ ।

यसैगरी कक्षा ५ सम्म पढाइ हुने विद्यालय कक्षा ३ सम्म पढाउने बनाइयो । पाँच जना स्थायी शिक्षक रहेकामा तीन जनाको दरबन्दी अरु ठाउँमा गरियो । व्यवस्थापन अर्कोलाई दिएपछि यस वर्षबाट कक्षा ८ सम्म सञ्चालन गर्ने भएको छ । शिक्षक दरबन्दी पनि पाँच जनाकै कायम गरियो । विद्यालय गाभ्नेभन्दा पनि नजिकैको राम्रोले सञ्चालन जिम्मा लिँदा प्रभावकारी हुँदोरहेछ । विद्यालय राम्रोसित सञ्चालनमा आउन थालेपछि छुट्टै विद्यालयकै रुपमा सञ्चालन गरिने नीति पनि लिएको प्रअ मल्लले बताउनुभयो । “हामीले विद्यालय गाभ्नेभन्दा पनि राम्रो बनाएर पुनः आफ्नै अस्तित्वमा राख्ने योजना लिएका छौं”, उहाँले भन्नुभयो, “समुदायमा जहिल्यै विद्यालय चाहिन्छ, त्यसैले हामीले दुई/तीन वर्ष सञ्चालन गरेर पुनः त्यही समुदायलाई हस्तान्तरण गर्छौं ।”

घोराही उपमहानगरपालिका-१८ को आधारभूत विद्यालय मसिनाको इतिहास पनि उस्तै उस्तै छ । कुनै समय २० जना मात्रै विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयमा पनि व्यवस्थापन फेरिएसँगै सबै राम्रो भएको छ । विद्यालय प्राङ्गण गाईबस्तु चरणस्थल बन्थ्यो । जे भए पनि अभिभावकले चासो दिने होइन । कक्षा १ देखि ५ सम्म सञ्चालित सो विद्यालय जब रझेना माविमा समायोजित भयो, अनि मुहार फेरियो ।

त्यही विद्यालय हो, त्यहाँ जम्मा २० जना पढ्न आउँथे । अहिले यही नर्सरी, एलकेजी, युकेजी कक्षा सञ्चालित छ । निजी विद्यालयको ‘मोडेल’ मा त्यो विद्यालय सञ्चालन गरिएसँगै ६० जना विद्यार्थी भए । रझेनाका प्रअ उद्धव न्यौपानेले भन्नुभयो, “विद्यालय हाम्रो जिम्मेवारीमा आएपछि निजी विद्यालयको मोडेलमा सञ्चालन गर्‍यौं, अनि विद्यार्थी पनि बढे ।” यहाँ पनि पहिला पाँच स्थायी शिक्षक थिए । अहिले भने तीन स्थायी शिक्षक र एक जना सहयोगी कर्मचारी छन् ।

दाङ घोराहीका यी दुई विद्यालय त उदाहरण मात्रै हुन्, समायोजित विद्यालय ६ वटा छन् । यी सबै विद्यालय अहिले भने साँच्चिकै विद्यार्थी पढ्ने ठाउँजस्तो भएको छ । विद्यार्थी सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलका अनुसार विद्यालय सशक्त बनाउन व्यवस्थापन नै मजबुत हुनुपर्छ । यसको ज्वलन्त उदाहरण यस नगरका ६ वटा विद्यालयलाई हेर्दा थाहा पाइन्छ । आगामी दिनमा पनि व्यवस्थापनलाई मजबुत विद्यालयको जिम्मा दिने र शिक्षामा सुधार गर्ने योजना छ । समायोजन भएको एक वर्षमा ती विद्यालय आशासित सुधार भएको उहाँको बुझाइ छ ।

उपमहानगर शिक्षा शाखा प्रमुख विनोद गौतमले सोही नीतिअनुसार घोराही ७ को घुस्रा प्राविलाई सौडियार माविमा, घोराही १० को बिपी वाटिकालाई सिद्धरत्ननाथ मावि नारायणपुरमा, घोराही ६ को गुरुवागाउँ प्राविलाई जदरागाउँ मावि र पक्वै प्राविलाई जयशेयर माविको व्यवस्थापन जिम्मा लगाइएको जानकारी दिनुभयो ।

विसं २०७७ असारमा ती विद्यालयलाई समायोजन गरिएको थियो । एक वर्षभित्रै व्यवस्थापन अति राम्रो भएको छ । एक किलोमिटर दूरीका, पैदल आधा घण्टा वरपर भएका तर विद्यार्थी नभएका विद्यालयलाई नजिकैको व्यवस्थित विद्यालयको जिम्मा लगाएको गौतमले बताउनभुयो । देशभर गरिएको विद्यालयको समायोजनभन्दा घोराहीको नीति प्रभावकारी देखियो”, उहाँले भन्नुभयो, “यसले राज्यको दायित्व पनि कम हुँदोरहेछ ।”

समायोजन गर्दा विद्यालय प्रशासन मजबुत भएकाले नै सुधार आएको शिक्षा प्रमुख गौतमको बुझाइ छ । समायोजन गर्दा विद्यार्थी टाढाको विद्यालय जानुपर्ने भएकाले पनि सोही विद्यालयमै पढ्न पाउने हुँदा प्रभावकारी हुने उहाँको भनाइ छ । विद्यालय समायोजन गरेर नजिकैको राम्रो विद्यालयलाई जिम्मा दिएपछि अहिले अभिभावक तथा विद्यार्थीमा पनि विश्वास बढेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । “सबैभन्दा ठूलो कुरा विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने खालको बनाउने हो”, उहाँले भन्नुभयो, “त्यसपछि विद्यार्थी बढ्छन्, हामीले समायोजन गर्नेभन्दा पनि विश्वासको वातावरण तयार पार्ने योजना बनायौं र अघि बढ्यौं । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्ने र अभिभावकले अपनत्व लिने हुँदा नीति ठीक छ भन्ने लागेको छ ।”

नजिकैको दूरीका विद्यालय पनि कतै विद्यार्थीको सङ्ख्या अत्यधिक हुने र कतै शून्य हुने अवस्था रहेको भन्दै समायोजन गरेपछि धेरै विद्यार्थी भएकाबाट पनि कम विद्यालयका विद्यार्थी ल्याउन सकिने उहाँको भनाइ छ । जसमा उपमहानगरपालिकाले समन्वयको भूमिकामात्रै खेलेको भन्दै समायोजन भएका विद्यालयमा छुट्टै लगानी भने उपमहानगरपालिकाले नगरेको प्रमुख चौधरीले जानकारी दिनुभयो । “समायोजन गरेका विद्यालयलाई भनेर छुट्टै लगानी गरेका छैनौं”, उहाँले भन्नुभयो, “हामीले नीति बनाएका छौं, त्यही नीतिलाई टेकेर मर्ज हुने र खर्चको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्छ ।”

प्रशासन राम्रो भए, विद्यालय सुध्रिन्छ

सुनसान विद्यालयमा अहिले भरिभराउ विद्यार्थी हुनुको एउटै कारण, ‘प्रशासन सुधार’ विद्यालयको प्रभावकारी व्यवस्थापन भए अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने प्रअहरुको अनुभव छ । “हामीले गाभिएका विद्यालयलाई अरु केही गरेको होइन, व्यवस्थापनमात्रै सुधार गरेका हौँ”, रझेनाका प्रअ न्यौपानेले भन्नुभयो, “हाम्रो जिम्मामा आएपछि शिक्षकलाई समयमै विद्यालय आउने, नियमित पढाउने, विद्यार्थीलाई पनि अनुशासित गराउने काम गर्‍यौं । यसकै नतिजा हो, विद्यालय सुधार भएको ।”

आफूहरुले पहिले आधारभूत विद्यालय मसिनाका शिक्षकलाई समेत रझेना ल्याएको उहाँले बताउनुभयो । अहिले ती शिक्षक नै उत्साहित भएको न्यौपानेको अनुभव छ । “हामीले मसिनाबाट ल्याएर रझेना अध्यापन गराउन लगाएका शिक्षक पनि निकै उत्साहित हुनुभएको छ”, उहाँले भन्नुभयो, “अहिले त अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइरहनुभएको छ, नियमित गृहकार्य दिनुहुन्छ, अनि सबै राम्रो भयो ।”

नगरको अर्को पेचिलो नीति हो, शिक्षक, व्यवस्थापन समितिका सदस्यले अनिवार्य आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउनुपर्ने । आफू सामुदायिक विद्यालय पढाउने, छोराछोरी बोर्डिङ पठाउने । यो गलत मनोदशा तोड्न रझेना माविले भूमिका खेलेको छ । उक्त विद्यालयका सबै शिक्षक तथा व्यवस्थापन समितिले अनिवार्य सामुदायिक विद्यालयमै बाबुनानी पढाउनुपर्छ । सोहीअनुसार कार्यान्वयन भयो । यसले सबै विद्यार्थीलाई आफ्ना सन्तान सरह ठान्ने बनाएको प्रअ न्यौपानेको अनुभव छ ।

विद्यालय शिक्षालाई प्रभावकारी बनाउन व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका हुन्छ भने नियमक निकायको अनुगमन पनि प्रभावकारी भए सामुदायिक विद्यालय सुधार हुने प्रअहरुको अनुभव छ । जुन विद्यालयमा शिक्षक मात्र होइन, व्यवस्थापन समिति पनि क्रियाशील हुन्छ, त्यो विद्यालय पक्कै पनि राम्रो हुन्छ । त्यहाँका विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?