हरेक वर्षको हिउँदमा जस्तै यो वर्ष पनि भारतको राजधानी सहर नयाँ दिल्ली प्रदूषणले ढाकेको छ । प्रदूषण बढेसँगै दिल्ली सरकारले आपतकालीन कदम चालेको छ । दिल्लीका विद्यालय तथा कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषणका दृष्टिले जोखिम मानिएका उद्योगधन्दा र कलकारखाना बन्द गरिएका छन् । प्रदूषण नियन्त्रणका लागि सरकारले लकडाउनसम्मको तयारी गरेको छ ।
जाडोको सुरुवातसँगै दिल्लीको आकाशलाई धुँवा र धुलोले ढाक्नु नौलो घटना होइन । खेतीपाती थन्काएपछि किसानले मलका लागि पराल तथा डाँठमा लगाउने आगो, कारखानाबाट निस्कने धुँवा, अनियन्त्रित सवारी साधन, सुख्खा मौसम दिल्ली प्रदूषणका मुख्य कारक हुन् । यसबाहेक दीपावलीमा पड्काइएका पट्का र आतिशबाजीले प्रदूषणरूपी आगोमा ध्यु थपेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रामानाले प्रदूषण नियन्त्रण गर्न आकस्मिक कदम चाल्न सरकारका नाममा आदेश जारी गरेका छन् । वायुमन्डलमा देखिएको धुलोको कण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै देखिएपछि प्रदूषण रोक्न अदालतसमेत जुर्मुराएको हो ।
वातावरणका क्षेत्रमा काम गर्दै आएको ग्रीनपिसका अनुसार गत वर्ष वायु प्रदूषणकै कारण दिल्लीमा मात्र ५७ हजार मानिसको मृत्यु भएको थियो । कोभिडका कारण सरकारले जारी गरेको लकडाउनबाबजुद प्रदूषण तह उच्च थियो ।
के हो प्रदूषणको कारक ?
केन्द्रीय सरकारले दिल्लीमा प्रदूषण बढ्नुमा किसानले पराल जलाउँदा निस्कने मौसमी धुँवा खासै जिम्मेवार नभएको बताउँदै आएको छ । परालबाट निस्कने धुँवा प्रदूषण बढाउन केबल १० प्रतिशत जिम्मेवार भएको सरकारको भनाई छ ।
हरेक वर्ष हिउँदको सुरुवातसँगै दिल्ली वरपरका किसानहरुले पराल र अन्य खेतीको डाँठ जलाउँछन् । परालको आगोले विहार र पन्जाबमा प्रदूषण तह बढेपछि सरकारले सन् २०१५ मा किसानलाई त्यस्ता कार्यमा रोक लगाएको थियो । तर, सरकारको प्रतिबन्ध लगाएपछि कृषिजन्य प्रदूषणमा कुनै कमी आएको छैन, बरू दिनहुँ तीब्र बढिरहेकाे छ ।
कृषि उपजको प्रदूषणबाट गत वर्षको तुलनामा याे वर्ष पन्जाब र हरियाणा प्रान्तका धेरै प्रभावित भएका छन् । नोभेम्बरकाे पहिलो दुई सातामा मात्र पन्जाब र हरियाणाका किसानले ५७ हजार स्थानमा आगो लगाएका थिए । यो संख्या सन् २०१२ पछिकै ठूलो हो ।
तर, पछिल्लो एक अध्ययनमा दिल्लीको वायु प्रदूषणमा पराल तथा डाँठको आगोबाट निस्कने धुँवा १० प्रतिशत मात्र जिम्मेवार छ ।
आतिशबाजीले वायु गुणस्तर प्रभावित भएको हो ?
दिल्लीमा प्रदूषण बढ्नुमा दीपावलीको पटका र आतिशबाजीलाई पनि मुख्य कारक बताइएको छ । विज्ञहरुको सुझावमा यो वर्ष दीपावलीमा विभिन्न राज्यले आतिशबाजी बिक्री र प्रयोगमा रोक लगाएका थिए । तर, त्यसको कार्यान्वयन पक्ष भने निकै फितलो देखियाे ।
दिल्लीमा वायु प्रद्रूषण बढ्नुमा आतिशबाजी पनि कारक रहेको सन् २०१८ मा गरिएको एउटा सर्वेक्षणले देखाएको थियो । सर्वेक्षणमा दिल्लीका पाँच क्षेत्रलाई आधार मानेर सन् २०१३ देखि सन् २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको थियो ।
दीपावलीको प्रदूषण र किसानहरुले पराल जलाउँदा निस्कने प्रदूषणमध्ये कुन बढी जिम्मेवार छ भन्ने बारेमा भारतीय विज्ञहरुले गरेको अर्को अनुसन्धानमा आतिशबाजी र पटका खासै जिम्मेवार नरहेको देखिएको थियो । उत्तरी भारतमा परालबाट निस्केको धुँवा पत्ता लगाउन अनुसन्धानकर्ताहरुले स्याटलाईट तथ्यांक प्रयोग गरेका थिए ।
सन् २०१८ को अर्को एक अध्ययनअनुसार दीपावलीका बेला पड्काइने पटकाले वायुमन्डलको हावामा असर गरेको पत्ता लागेको थियो । दिल्लीका पाँचवटा स्थानमा गरिएको सो अध्ययनमा सन् २०१३ देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको थियो ।
दिल्लीस्थित विज्ञान तथा पर्यावरण केन्द्रले सार्वजनिक गरेको अध्ययनअनुसार दीपावलीका बेला दिल्लीको वायुमा सन् २०१८ देखि सन् २०२० सम्म पीएम २.५ को मात्रा बढेको थियो ।
विज्ञहरुका अनुसार सबै पटकाले पीएम २.५ का कणहरू उत्सर्जन नगरे पनि ठूला पटाकाले धेरै उत्सर्जन गर्छन् ।
तर, पछिल्लो एक अध्ययनमा दिल्लीको वायु प्रदूषणमा पराल तथा डाँठको आगोबाट निस्कने धुँवा १० प्रतिशत र कृषि क्षेत्रको प्रदूषण ४८ प्रतिशत जिम्मेवार रहेको पत्ता लागेको थियो ।