गृहमन्त्री बालकृष्ण खाँणले विविध कठिनाइका बीच घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले सन् २०२४ सम्म घटना दर्तालाई शतप्रतिशत पु¥याउने अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गरिरहेको स्पष्ट पार्नुभयो ।
सम्मेलनामन गृहमन्त्री खाँणले घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जनभन्दा बढी सदस्य राष्ट्रको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाँणले सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
सबै नेपालीको समयमा नै जनसाङ्ख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन प्रणाली आधारका रूपमा रहने बताउँदै उहाँले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समीक्षा गर्न सम्मेलन आयोजना भएको हो ।