उदयपुर, ५ मंसिर
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई घरमै पुगेर समवेदना दिएका छन् । अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले त्रियुगा नगरपालिका–११ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजन प्रति समवेदना दिएका हुन् ।
शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर नगर प्रमुख चौधरीका २८ वर्षीय छोरा पशु चिकित्सक मनोज चौधरीको मृत्यु भएको थियो ।
पुत्रशोकमा परेका पार्टीका प्रदेश १ को अध्यक्षसमेत रहेका नगर प्रमुख चौधरीलाई अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले सान्त्वना दिएका थिए । नगर प्रमुख चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अध्यक्ष नेपाल शव यात्रासँगै त्रियुगा नदीको घाटसम्मै पुगेका थिए ।
हेलिकप्टरबाट पौने १२ बजे गाईघाट उत्रिएका नेपाल करिब तीन घण्टा बिताएर समवेदना प्रकट गरी काठमाडौं फर्किएका थिए । समवेदना बाहेक कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रमहरू केही नगरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडा पनि अध्यक्ष नेपालसँगै आएका थिए ।
समवेदना दिन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र) का संघीय सांसद सुरेशकुमार राई, प्रदेश १ का भौतिक पूर्वाधार तथा योजना मन्त्री हिमाल कार्की तथा सांसदहरूको सहभागिता थियो ।