प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
उनी गृहजिल्ला डडेल्धुराको जारी सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा बाहिरबाटै ‘टिक’ (रेजा) लगाएर निर्वाचन प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
‘यसअघि पनि यही तरिकाले उहाँलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत गरिँदै आइएको थियो,’ एक कांग्रेस नेताले भने, ‘यसपाली पनि बाहिरै मतपत्रमा रेजा लगाइएको छ।’
देउवापत्नी डा. आरजु राणा देउवा, सरस्वती खड्का, कौशिल्लाकुमारी भट्ट र कलावती बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
यस्तै दलिततर्फ सन्तोष जैरु, अपांगतर्फ जगदिश भट्ट पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
जिल्ला कार्यसमितिको उपसभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सहसचिवमा प्रेमबहादुर महर र गोविन्दराज बोहरा पनि सर्वसम्मत भएका छन्।
कांग्रेस डडेल्धुराको सभापतिका लागि भीमबहादुर साउद र चुडामणि ठकुराठी प्रतिष्पर्धामा छन्। अहिले जिल्ला सभापतिलगायतका पदका लागि मतदान भइरहेको छ।