स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसलाई चुनाव जित्न कसैको ‘बैशाखी’ आवश्यक नरहेको बताएका छन् । स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसको दुवै खुट्टा दर्हो भएकोले बैशाखी टेक्न जरुरी नरहेको बताए । उनले कम्युनिष्टको बैशाखी टेके कांग्रेस तेस्रो हुने टिप्पणी गरे । उनले गठबन्धन सरकार आन्दोलनको ‘बाइप्रडक्ट’ मात्रै रहेको भन्दै चुनावमा गठबन्धन जरुरी नरहेको बताए ।
‘चुनाव भनेको देउसी खेलेजस्तो होइन । केराको खम्बा चार भाई जम्मा भनेजस्तो होइन । हिजोपनि कांग्रेसले उपेन्द्र, बाबुरा, महन्थ र प्रचण्डपुत्रीहरुलाई जिताएको हो । तर, उनीहरूले खोला तरेपछि लौरो बिर्सिए । फेरि त्यो गल्ती गर्नुहुन्न’, गुरुङले भने । उनले कांग्रेसको काँध चढेर वैतरणी तर्ने सपना कसैले देख्न नहुनेमा जोड दिए ।