काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ । बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबारसम्म गण्डकी प्रदेशसम्म आइपुगेको छ । मौसमविद् राजु प्रधानाङ्गले भने, ‘सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र कर्णाली प्रदेशमा हिमपात भइरहेको छ । साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।’महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभाव विस्तारै पश्चिमबाट पूर्वतिर सर्दै आएको छ । त्यसैले बागमती प्रदेश र प्रदेश-१ मा बिहीबार राति नै वर्षा र हल्का हिमपातको सम्भावना छ ।