दाङ । लुम्बिनी प्रदेशका १२ जिल्लामा मतदाता संख्या ३२ लाख बढी पुगेको छ । प्रदेशभरका १०९ पालिकामा ३२ लाखभन्दा बढी मतदाता यस पटकको स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछन् ।यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशभर १६२९ मतदान स्थलमा ३८३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ। १५३ वटा मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । जसअनुसार पाँच वटा अतिसंवेदनशील, १३७ वटा संवेदनशील र ११ वटा मतदानस्थल सामान्य अवस्थाकोमा वर्गीकरण गरिएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई भूगोल, सीमा, सडक सञ्जाललगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेका हो । १५३ वटा मतदान स्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ ।
दाङमा स्थानीय निर्वाचनका लागि चार लाख ९९ हजार मतदाता रहेका छन् । दुई लाख ९,०९९ जना महिला, दुई लाख ९९ हजार पुरुष र दुई जना तेस्रोलिंगी छन् ।
प्रदेशभरका पनि मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोही अनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
१२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरू अहिले चुनावका लागि आवश्यक सामग्रीहरू खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
चार वटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा एक लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५०० ले बढी हो ।
यस्तै, दोस्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा ०७४ सालको भन्दा ३० हजार ७८४ मतदाता थपिएर यस पटक एक लाख ७ हजार पुगेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन् ।स्थानीय तहको चुनाव नजिकिंदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् । निर्वाचन कार्यालयहरू आवश्यक तयारीमा जुटेका छन् ।