बाँके । दुई जना युवा युवतीकोबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । मित्रता झाँगिँदै गएपछि दैनिकजसो ‘भिडियो च्याट’ हुन्थ्यो । बाँकेको राप्ती सोनारीकी १६ वर्षीया किशोरी र बैजनाथ गाउँपालिका–८, झिँगौराका हेमराज थारूबीच सामाजिक सञ्जालबाट ‘प्रेम’ गाँसिएको थियो । त्यही प्रेमको बदलामा किशोरीले ठूलो पीडा भोग्नुपरेको छ ।
पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार हेमराजले शनिबार फोन गरेर ‘मेरो जन्मदिन छ’ भन्दै निम्तो दिए । किशोरी बस चढेर नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत मानखोलानजिकै पुगिन् । त्यतिबेला अपराह्न ४ बजिसकेको थियो । किशोरीलाई लिन हेम र उनका साथीहरू त्यहाँ आए । किशोरीलाई मोटरसाइकलमा चढाएर बर्दियाको पर्यटकीय क्षेत्र बढैयाताल पुर्याए ।
‘अब जन्मदिन मनाउनुपर्छ भनेर हेमराजले विक्रान्त थारूमार्फत घरेलु मदिरा मगाए,’ पीडित किशोरीले बयानमा उल्लेख गरेकी छन्, ‘विक्रान्तले आफ्ना लागि बियर ल्याएर खाए । मैले नाइँ खादिनँ भन्दै प्रतिकार गर्दा जबर्जस्ती खुवाइदिए । मदिरा नखाने बानी भएकाले बेहोस भएछु, त्यसपछि मलाई तीन जनाले सामूहिक बलात्कार गरे । मैले केही गर्न सकिनँ ।’ प्रहरीका अनुसार मानखोला जंगलमा सामूहिक बलात्कारपछि किशोरी बेहोस भइन् । हेमराजका साथी नीरज र विक्रान्तले बेहोस किशोरीलाई मानखोलामा पुर्याएको खुलेको छ । शरीरमा पानी छम्केपछि अलिअलि होसमा आएको किशोरीले बयानमा उल्लेख गरेकी छन् ।
बाँके र बर्दियाको सीमा मानखोलाबाट उनीहरूले किशोरीलाई बैजनाथ–८ पिपरी गाउँस्थित विक्रान्तले बंगुरपालन गरेको टहरामा पुर्याएको खुलेको छ । ‘टहरामा पनि बेहोसी अवस्थामै रहेका बेला विक्रान्तलगायत तीन जनाले फेरि पनि सामूहिक बलात्कार गरे । म फेरि बेहोस भएँ,’ किशोरीको बयानमा उल्लेख छ, ‘रातभरि मदिराको नशा र सामूहिक बलात्कारले थला परेजस्तै भएको थिएँ ।’ होस खुलेपछि हेमराजले गाउँकै साथीहरू विश्वनाथ र निर्देशन थारूलाई बोलाएर घर छाडिदिनु भन्दै त्यहाँबाट भागेको किशोरीले उल्लेख गरेकी छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसी मधुसूदन न्यौपानेका अनुसार पीडित किशोरी अर्को दिन बिहानसम्म लट्ठिएको अवस्थामा थिइन् । ‘मदिरा र बलात्कारका कारण मानसिक तनावमा छिन्,’ उनले भने, ‘घटनाको गम्भीर अनुसन्धान भइरहेको छ ।’ पीडित किशोरी एक संस्थाको सेल्टरमा छिन् ।