रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्ने भएको छ । आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो ।
अस्थायी राजधानी बुटवलबाट देउखुरी सारिएपछि यसअघिको सरकारले यो विषय ल्याउँदा आलोचना भएको थियो । अहिले सरकारमा सहभागी दलले यही विषयलाई पछ्याएका हुन् ।
सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले अहिले स्थायी राजधानी बनाइएको क्षेत्रमा नयाँ नगरपालिका बनाएर राजधानीको व्यवस्थापन गरिने जनाएका छन् । प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख शेरचनले बताए । यसैगरी नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्वपूर्ण योजनाको रुपमा अघि बढाइने प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ ।
प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई लुम्बिनी सरकारले प्रदेश गौरवको आयोजनाको घोषणा गरेको छ ।