Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

अब नेपालबाट सिमेन्टपछि छड पनि भारत निर्यात हुन थाल्यो 

spot_img
spot_img

स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले बुधबारबाट भारतमा टीएमटी छड निर्यात थालेको छ । जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो ।

उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो । बुधबार उद्योगमा कार्यक्रम आयोजना गरेर निर्यात सुरुवात गरिएको थियो । मुलुकबाट भारतमा टीएमटी फलामे छड निर्यात गर्नेमा सो उद्योग पहिलो बनेको छ । सिमेन्ट उद्योगमा भने पाल्पा इण्डस्ट्रीले तानसेन ब्राण्डको सिमेन्ट निर्यात थालेको छ ।

श्री स्टिल उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सरकारले चालु बजेटमा छड निर्यात गर्ने उद्योगलाई सहुलियत दिने घोषणा गरेपछि बुधबार एउटा ट्रकमा ३५ टन फलामे छड पठाइएको बताए । ‘चालु आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएको छ,’ उनले भने, ‘त्यसपछि हामीले निर्यात सुरु गरेका हौं ।’ निर्यातलाई निरन्तरता दिन कार्यविधि बनाएर सरकारले सहुलियतको निर्णय छिटो कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा सञ्चालित श्री स्टील्सले विगत पाँच वर्षदेखि छड उत्पादन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक सोमेस अग्रवालले छड निकासीपछि देशमा विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत पुग्ने बताए । ‘यसले मुलुकको ब्यापार घाटा कम गर्न टेवा पुर्‍याउने हाम्रो विश्वास छ’, उनले भने, ‘सरकारी नीति कार्यान्वयन भएमा गुणस्तर कायम राख्दै उत्पादन र निर्यातमा बढवा दिन्छौं ।’ बजेटमा गरिएको ८ प्रतिशत सहुलियतको घोषणा छिटो कार्यविधि बनाएर लागू गर्न सरकारलाई उनले आग्रह गरे ।

भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि सरकारी नीति कार्यान्वयन जरुरी रहेको उद्योगीले बताएका छन् । ‘हामीले कच्चापदार्थ भारतबाटै ल्याएर यहाँ प्रशोधन गरी छड बनाएर भारत निकासी गर्नुपर्ने हुन्छ, यसका लागि सरकारले साथ दिएन भने निर्यात सम्भव हुँदैन’, संचालक अग्रवालले भने । प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल उत्पादन गर्दै अएको छ । उद्योगले केही समय अघिबाट आफ्नै अत्याधुनिक प्लान्ट मार्फत स्पञ्ज तथा स्क्राब आइरनबाट बिलेट समेत उत्पादन गर्दै आएको अग्रवालले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?