काठमाडौं । लुम्बिनी प्रदेशका सांसदहरूले घरभाडा बापत एक वर्षको एक करोड ७ लाख रुपैयाँ भन्दा बढी भुक्तानी लिएका छन्। मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख लगायतको लागि सरकारी निवास उपलब्ध भएपनि प्रदेशसभाका सांसदहरूले हरेक महिना घरभाडा र घर मर्मतको नाममा हजारौं रुपैयाँ भुक्तानी लिँदै आएका छन्।
गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै प्रदेशका ८१ जना सांसदहरूलाई एक करोड ७ लाख ७८ हजार २ सय ७ रुपैयाँ प्रदेशसभा सचिवालयमार्फत घर भाडा भन्दै भुक्तानी गरिएको हो।
सचिवालयका अनुसार रुपन्देहीमा घर नभएका सांसदहरूलाई घरभाडा र रुपन्देहीमा घर भएका सांसदहरूलाई घर मर्मत सम्भारको नाममा हरेक महिना रकम उपलब्ध हुन्छ। जिल्लामा घर नभएका सांसदहरूले गत मंसिर महिनासम्म घरभाडा बापत मासिक १५ हजार बुझ्दै आएकोमा पुस महिनामा १६ हजार १३३ र माघ महिनादेखि भने १७ हजार रुपैयाँ बुझ्दै आएका छन्।
त्यस्तै रुपन्देहीमै घर भएका सांसदहरूले पनि घर मर्मतसम्भारको लागि भन्दै गत मंसिर महिनासम्म ७ हजार ५ सय रुपैयाँ बुझ्दै आएकोमा पुस महिनामा ८ हजार ६६ र माघदेखि भने ८ हजार ५ सय रुपैयाँ बुझ्दै आएका छन्। यसरी ८१ जना सांसदले घरभाडा र मर्मतको नाममा १ करोड ७ लाख ७८ हजार बढी रकम भुक्तानी लगेको प्रदेशसभा सचिवालयले जनाएको छ।