काठमाडौं । आफूले वर्षौदेखि खनजोत गरेर पेट पाल्दै आएको जग्गा अचानक अर्कैको नाममा नामसारी भएको देख्दा कसलाई अचम्म नलाग्ला । त्यस्तै भएको छ नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का रघुनाथ मिश्रलाई । उनको १५ कट्टा जग्गासँगै ओत लाग्ने झुप्रोमाथिसमेत अर्कैले मेरो हो भनेर दाबी गरिरहेको छ । अहिले उनी घरबारविहीन जस्तै बनेका छन् । घरबारी छ भनौं आफ्नो नाममा छैन् । छैन भनौं आफ्नै बाजेले किनेको जग्गा, जुन अहिलेसम्म उनले भोगचलन गर्दै आएका छन् ।
बाजे राजाराम मिश्रले साहुजन प्रेमशरण खत्रीबाट १६ कठ्ठा जग्गा किनेका थिए । बाजेले किनेकै जग्गा बुवा वैजनाथ मिश्र र आफूले अहिलेसम्म भोगचलन गर्दै आइरहेको उनी बताउँछन् । तर अहिले त्यही खेतबारी उनको नरहने अवस्था आएको छ । भूमाफियाले जालझेल गरेर मिश्रलाई कुनै छनकसमेत नदिई जग्गा अर्कैलाई बेचिदिए । भूमाफियाले २०७४ सालमा मिश्रलाई कुनै शंका नहुने गरी उनले भोगचलन गर्दै आइरहेको जग्गा सुटुक्क अर्कैलाई बेचिदिए । मिश्रको जग्गा किन्ने मान्छे अहिले उनलाई बारम्बार खेतबारी र घरबार छोडेर जा भनेर धम्की दिन्छ ।
मिश्रको घरसहितको १६ कट्टा जग्गा भूमाफियाले स्युलाल चमारलाई बेचिसकेका रहेछन् । मालपोत विभागका कर्मचारीसँगको मिलेमतोमा भूमाफियाले जग्गा अर्कैको नाममा नामसारी गरिसक्दा पनि मिश्रले कुनै सुइको पाएनन् ।
‘हामी त आफ्नो काम गरिखाने मान्छे । बाजेका पालादेखि खनिखेत गर्दै आएको जग्गामा माफियाको आँखा लाग्छ भनेर सोच्नै सकेनौं । भूमाफियाले घर न घाटको बनाइदिए । अब कसरी परिवार पाल्नु, कसरी छोराछोरी पढाउनु, कहाँ बस्नु ?’ मिश्रले गुनासो गरे । त्यस्तै रामदेव केवटको पनि १३ कट्टा ५ धुर जग्गा उनी बाजेको पालादेखि भोगचलन गर्दै आइरहेका थिए । उनीसँग बाजेले साहु प्रेमशरण खत्रीलाई जग्गा किन्दा तिरेको पैसाको कागजसमेत छ । तर उनको जग्गा भूमाफियाले अर्कैलाई बेचिसकेका रहेछन् । उनको सम्पूर्ण जग्गा र घर अहिले प्रदीप सुनारको नाममा छ ।
रामदेवका अनुसार माफियाले सरकार, राजस्व कार्यालय र मालपोत विभागबाट बच्नका लागि किसानको जग्गालाई थोरैथोरै गरि आफ्ना छोराछोरीको नाममा नामसारी गरी बिक्री गरेको छ । खगेन कहारको १५ कट्टा जग्गा अहिले असकुमार सैतवार र प्रदीप सुनारको नाममा छ । रती कहरको पाल्हीनन्दन गाउँपालिका- ६ मा ५ कठ्ठा जग्गा थियो । तर अहिले त्यो जग्गा अर्कैको नाममा छ । भूमाफियाले उनको जग्गा अर्कैलाई बेचिसकेका छन् ।
‘न श्रीमानको जागिर छ न घरबारी रहन्छ । मैले कसरी छोराछोरी पाल्ने कहाँ बस्ने ?’ उनले गुनासो गरिन । नक्कली जग्गा धनी खडा गरेर भूमाफियाले जग्गा बेचेपछि उनीहरु आक्रोशित र निराश बनेका छन् । पाल्हीनन्दन गाउँपालिका-६ का अध्यक्ष किशोरचन्द्र यादवसहित ६५ जना पीडित काठमाडौं आएका छन् ।