दाङ । दाङको देउखुरीमा करिa १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लगानीमा निर्माण हुन लागेको करिडोरको सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् ।
दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ मिटर चौडाइको करिडोर राप्ती नदीको दुवै किनारमा बन्ने छ । नदीको उत्तरी अथवा राप्ती गाउँपालिका क्षेत्रमा ६७.५० किलोमिटर र दक्षिणी अथवा गढवा गाउँपालिका क्षेत्रमा ६८.३० किलोमिटर गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर बन्ने श्रेष्ठले बताए ।