रुपन्देही । आगामी निर्वाचन नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका प्रभावशाली केन्द्रीय नेताहरुमध्ये दाङमा कसले टिकट पाउला भन्ने चर्चा सुरु भएको छ ।
दाङ २ एमाले महासचिव शंकर पोखरेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो । अघिल्लोपटक प्रदेशसभामा झरेका महासचिव पोखरेल यसपटक प्रतिनिधिसभामा उक्लिने सम्भावना छ । तर गठबन्धनबाट महराले टिकट पाउँदा दुई वाम नेताबीच कडा टक्कर पर्ने देखिएको छ ।
दाङ क्षेत्र नं १ नेकपा एसका नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो । यहाँ एमालेबाट गंगा वा शान्ता चौधरी दावेदार छन् । क्षेत्र नं ३ मा कांग्रेसका प्रभावशाली नेता दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे वा कोमल वलीको चर्चा छ ।
२०७४ मा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरा प्रतिनिधिसभा र शंकर पोखरेल प्रदेशसभामा चुनाव लडेका थिए । तर, यसपटक प्रतिनिधिसभामा महरा र पोखरेल आमनेसामने हुने स्थिति बनेको छ ।
गठबन्धनमा यो क्षेत्र महराले नै पाउने करिब निश्चित छ । तर, यसअघि महराले हराएका कांग्रेस नेता राजु खनालले पनि यहाँ दाबी गर्दै आएका छन् । माओवादी केन्द्र दाङका सहइन्चार्ज निर्मल आचार्यले दाङ २ मा कृष्णबहादुर महराले नै प्रत्यक्ष निर्वाचन लड्ने बताए । यसअघि महराले खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाउँदा खनालले २५ हजार ८९७ मत ल्याएका थिए ।
एमालेबाट पोखरेलबाहेक कसैको दाबी देखिएको छैन । उनी क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका थिए । एमाले दाङका सचिव मनोहर बुढाथोकीले क्षेत्र नम्बर २ मा एमालेबाट महासचिव पोखरेल निश्चित जस्तै भए पनि अन्य क्षेत्रमा धेरैको दाबी रहेको बताए ।