रुपन्देही । रुपन्देहीमा नेकपा एमालेभित्र चर्को विवाद देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिसको क्रममा एमालेभित्र विवाद बढेको हो ।रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, ३ र ४ मा एमालेमा उम्मेदवारका आकांक्षी धेरै भएपछि गुटगत आधारमा विवाद बढ्न थालेको हो । क्षेत्र नम्बर १ मा नेता छविलाल विश्वकर्मालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरे पनि अर्का नेता टीकाराम चापागाईँले दाबी नछोडेपछि उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ ।
क्षेत्र नं. १ मा नेता घनश्याम भुसाललाई उम्मेदवार बनाउन केही नेता–कार्यकर्ताले दबाब दिए पनि जिल्ला नेतृत्वले त्यसलाई रोक्ने कोसिस गरेको बुझिएको छ । क्षेत्र नं. ३ मा पनि नेता भुसाललाई एकल सिफारिस गरिएको छैन । सो क्षेत्रमा भुसालसहित चार जनाको नाम सिफारिस गरिएपछि भुसाल समर्थक कार्यकर्ता रुष्ट बनेका छन् ।
पार्टीभित्र विवाद बढ्दै गएका कारण एमालेले उम्मेदवार सिफारिस भएकाहरुको नामसमेत सार्वजनिक गरेको छैन । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न धेरै जनाले इच्छा व्यक्त गरेकाले नाम सार्वजनिक गर्न अप्ठ्यारो भएको रातोपाटीलाई बताए ।
पार्टीका रुपन्देही प्रचार विभाग प्रमुख हितराज पान्थीका अनुसार क्षेत्र नं. १, ३ र ४ मा विवाद देखिएको छ । घनश्याम भुसाललाई क्षेत्र नं. ३ बाटमात्र सिफारिस गरिएको उनले बताए । ‘क्षेत्र नं. १, ३ र ४ मा धेरै साथीहरु इच्छुक हुनुभयो, हामीले सबैको नाम प्रदेश कमिटीलाई पठाएका छौं, अब उतैबाट निर्णय आउला,’ उनले भने ।
एमालेले रुपन्देहीको १ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्न खोजेको बताइएको छ । पन्थीका अनुसार क्षेत्र नं. ४ मा चुनावी तालमेलका लागि राप्रपासँग छलफल भइरहेको छ । क्षेत्र नं. २ मा विष्णु पौडेल र ५ मा खिमलाल भट्टराईको एकल नाम सिफारिस भए पनि अन्य क्षेत्रमा विवाद भएकै कारण उम्मेदवार सिफारिसमा एमालेले विलम्ब गरेको हो ।