गोरखा । विकास निर्माणको काममा प्रयोग गर्नुपर्ने डोजर माओवादी पार्टी कार्यालयको भवन निर्माण गर्ने जग्गा सम्याउन प्रयोग भएपछि गोरखा नगरपालिकाको आलोचना भएको छ ।
मेयर कृष्णबहादुर राना मगरको निर्देशनमा तीन दिनदेखि गोरखा नगरपालिका–६ पाटेचौर स्थित माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरपालिकाले किनेको डोजर प्रयोग हुदै आएको छ ।
ग १ ग १६२ नम्बरको सरकारी डोजर शनिबार पनि माओवादी पार्टी कार्यालय भवन निर्माण गर्ने जग्गा सम्याउन प्रयोग भइरहेको छ । त्यहाँ दैनिक ११ घण्टासम्म नगरपालिकाको डोजरले काम गर्दै आएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार मेयरकै निर्देशनमा डोजर पठाइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल भने नगरपालिकाको डोजर माओवादी पार्टीको काममा प्रयोग भएको बारे अनविज्ञता प्रकट गर्छन् । ‘माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरको डोजर प्रयोग गर्नुपर्यो भनेर मलाई कसैले केही भनेका पनि छैनन्, डोजर प्रयोग भएको छ भन्ने कुरा मलाई थाहा पनि भएन’ उनले भने ।